बिहिबार, बैशाख २०, २०८१

ब्राण्ड बन्यो हेम्जाली आलु

पोखरा । कास्कीको हेम्जामा उत्पादित आलु पोख्रेली उपभोक्ताका लागि ब्राण्ड बनेको छ । हेम्जा कृषिका लागि उर्वरभूमि भएकाले यहाँ आलुलगायत विभिन्न कृषि कर्म गरिन्छ ।

त्यसमा कृषकले आलु खेतीलाई पहिलो रोजाइमा राखेका छन् । आलुको पर्याय बनेको हेम्जामा यतिखेर आलु महोत्सव चलिरहेको छ । आलुका पारखीका लागि हेम्जाको आलु विशेष बन्नेगरेको स्थानीय माधवशरण पौडेलले बताए । उनका अनुसार हेम्जाका आलु उपभोक्ताको रोजाइमा परेकाले बजारको समस्या छैन ।

हेम्जामा आलुको ब्राण्डिङका लागि महोत्सव गर्न थालिएपछि यहाँको आलुले राष्ट्रिय रुपमै पहिचान पाएको छ । किसानले मूल्य र सन्तुष्टी पाएको स्थानीय किसान घनश्याम तिम्सिनाले बताए ।

कृषि ज्ञान केन्द्र कास्कीका अनुसार प्रतिहेक्टरमा २० मेट्रिक टनभन्दा बढी आलु उत्पादन हुने गरेको छ । हेम्जामा एमएस ४२।३ जातको आलु प्रख्यात भए पनि अन्य आलु पनि लगाउने किसान बताउँछन् । जसमा स्थानीय जातका जनकदेव, खुमल लक्ष्मीका साथै रजिष्टर नभएका इनोभेटर, फ्राइसोनाजस्ता आलु खेती गरिएको कृषि ज्ञान केन्द्र बागबानी विकास अधिकृत मञ्जु अधिकारीले जानकारी दिए।

पोखरा महानगरपालिका २५ का वडाअध्यक्ष मोती तिम्सिनाले हेम्जाक्षेत्र आलुका लागि प्रख्यात हुँदा यहाँका स्थानीयले आलुबाट मनग्य आम्दानी गर्न सफल भएको बताए । बढ्दो सहरीकरणले हेम्जालाई छोएको भए पनि कृषि क्षेत्रमा व्यवसायीकरण र फार्मिमको विकास पनि भइरहेको उनको भनाइ छ ।

केही वर्ष अघिसम्म हेम्जामा चारसय ५० हेक्टरमा आलुखेती हुने गरेकोमा त्यो घटेर अहिले करिब तीनसय हेक्टरमा सीमित रहेको पोखरा महानगरका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । गुणस्तरीय बीउ, मलको अभाव, हावापानीमा आउने परिवर्तनलगायत कारणले आलुखेतीमा चुनौती थपिँदैआएको किसान तिम्सिनाको भनाइ छ ।

हेम्जामा मात्र नभइ पोखराको खपौदी, पामे, सिसुवा, लेखनाथ, रुपाको ठूलीबेसी, मादीको हाडीखोला, भगवतीटार, माछापुच्छे र अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थानमा आलुखेती राम्रो उत्पादन हुने गरेको छ । हिमाली क्षेत्रसँग जोडिएका पालिकामा भने दोस्रो चरणको वर्षे आलु लगाउन सुरु भएको छ । समग्र कास्की जिल्लामा १७ सय ८६ हेक्टरमा आलु खेती हुने गरेको बागबानी विकास अधिकृत अधिकारीले जानकारी दिए ।

कृषिलाई प्रवद्र्धन गरी आलुको बजारीकरण गर्न बाह्रौँ ‘राष्ट्रिय हेम्जा आलु महोत्सव’ आइतबारदेखि सुरु भएको छ । ‘सुन्दर ठाउँ हेम्जा जाऔँ, आलुका स्वादिष्ट परिकार खाऔँ, आलु एक परिकार अनेक’ भन्नेजस्ता नारा रहेको महोत्सवको उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले आलु महोत्सवलाई कृषि महोत्सवको संज्ञा दिइ किसानलाई हौसला प्रदान गरे ।

उनले महोत्सवले कृषिका धेरै क्षेत्र समेटेको उल्लेख गर्दै हेम्जाको सिँचाइ व्यवस्थापनका लागि महानगरले संघ सरकारको समपूरक योजनामा चौरासी नहर पुनरनिर्माणलाई जोडेर पठाएको जानकारी दिए।

महोत्सवका लागि ५० टनभन्दा बढी आलु सङ्कलन गरिएको छ । महोत्सव अवधिभर ८० टन आलु बेच्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ । महोत्सव आगामी वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । महोत्सव अवधिभर आलु प्रतिकिलो ४० मा बिक्री गरिएको छ । यस अवधिभर करिब १० करोडको कारोबार हुने अनुमान आयोजकले गरेको छ ।

 

प्रकाशित मिति: मङ्लबार, चैत्र २७, २०८०