बुधबार, बैशाख १९, २०८१

गैरकानूनी रुपमा सरकारी बजेटमा मन्त्रीका निजी सचिवलाई विदेश भ्रमण गराएको खुलासा

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेको कालीमाटी तरकारी तथा फलफूल विकास समितिले पूर्व मन्त्री डा बेदुराम भुसालका पिएलाई गैरकानुनी ढंगले विदेश भ्रमण गराएको भेटिएको छ । सरकारले असम्वन्धित व्यक्तिलाई सरकारी ढुकुटीको रकम खर्च गरी विदेश लगेमा स्वीकृत गर्ने अधिकारीबाट नै भराउने भन्ने आदेश दिँदा पनि कृषि तथा पशुशपन्छी विकास मन्त्रालयका प्रशासन सहसचिव अध्यक्ष रहने कालीमाटी तरकारी बजारको रकममा मन्त्रीका पिए शुशिल भट्टराईलाई विदेश भ्रमण गराएको हो ।

सरकारी बजेटमा मन्त्रीका निजी सचिवालयका व्यक्तिहरुलाई विदेश लैजाने प्रचलन बढ्दै गएको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले परिपत्रि नै गरी सजग गराईसकेको अवस्थामा कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले भने निर्णय गराएर मन्त्रीका पिए शुशीललाई विदेश भ्रमण गराएको भेटिएको छ ।

समितिका अध्यक्ष समेत रहेका मन्त्रालयका प्रशासत तर्फका सहसचिव मदन भुजेलले के आधारमा मन्त्रीका पिएलाई विदेश भ्रमण लैजान निर्णय गरे भन्ने कुरा समितिले आधिकारिक रुपमा बताउन चाहेको छैन ।

अध्यक्ष मदन भुजेल, कार्यकारी निर्देशक डा महादेव पोडेल, मन्त्रालयका उपसचिव डालप्रसाद पुडासैनी,मेघराज पन्त, शुशिल भट्टराई लगायतका व्यक्ति विदेश पुगेर फर्किसकेका छन् । किसानहरुले उत्पादन गरेका कृषि उपज विक्री वितरणका लागि सहज गर्न नेपाल सरकारको लगानीमा स्थापना गरिएको नेपाल कै ठूलो र पहिलो तरकारी बजारमा यस्तो किसिमका हर्कतहरु वितगमा पनि नभएका भने होइनन् ।

राष्ट्रिय सर्तकता केन्द्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ध्यान नदिएका कारण यस्ता खाले विकृतिसँग सरकारी ढुकुटी स्वाहा गर्ने काम भईरहेको देखिन्छ । राष्ट्रिय सर्तकता केन्द्रले यसको निष्पक्ष छानविन गरी दोषीमाथि कार्वाही गरी सरकारी कोषको दुरुपयोग गर्नेबाट नै असुल उपर गर्नु पनेै देखिन्छ ।

प्रकाशित मिति: सोमवार, चैत्र २६, २०८०