आइतवार, बैशाख १६, २०८१

किन उठ्दैन खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागका महानिर्देशक र प्रवक्ताको फोन

काठमाडौं । सरकारले कुनै पनि कार्यालयमा नागरिकहरुले आवश्यक सूचना माग गरेमा तत्काल उपलब्ध गराउने गरी सूचना अधिकारीको व्यवस्था गरेको छ भने सो भन्दा माथिल्लो निकायका रुपमा आधिकारिक भनाई राख्नका लागि प्रवक्ताको पनि व्यवस्था गरेको छ । प्रवक्ताहरुले चाहेको बेला सूचना नदिएमा उनी माथिको निकायमा पनि जानकारी लिन सकिन्छ र सरकारी सेवामा कार्यरत कर्मचारीहरुले सो कुराको सहजीकरण गर्नु पर्दछ ।

तर सरकारी निकायमा पनि जनतासँग प्रत्यक्ष सरोकार राख्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता तथा उनी भन्दा माथिल्लो नेतृत्व महानिर्देशकसँग सम्पर्क गर्न निकै नै कठिन हुन्छ । पछिल्लो समय कार्यालयको टेलिफोनबाट हाकिमहरुलाई भेट्नु भनेको स्वर्गमा इन्द्र खोजे जस्तै हुन्छ । त्यसकारण पनि हाते फोन मोवाईलले तत्काल सूचना आदान प्रदान गर्न सहज हुने भए पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका हकमा भने सो कुराको लागू हुँदैन ।

खाद्य बस्तुसँग सम्वन्धित कुनै जानकारी लिनु परेको छ वा खाद्य तथा गुण नियन्त्रण विभागको कर्तव्य भित्र पर्ने कुनै पनि जानकारी लिन पछिल्लो समय निकै नै कठिन हुँदै गएको छ । सरकारले सञ्चार सेवाका महानिर्देशक र प्रवक्ता दुवैलाई टेलिफोनको पैसा पनि तिर्दिने गर्दछ । तर खाद्य प्रविधि तथा गुण विभागका प्रवक्ता र महानिर्देशक दुवैले मोवाईल फोन हत्त पत्त उठाउँदै उठाउँदैनन् । जन सरोकार खाद्यसँग सम्वन्धित विषयमा तत्काल अनुगमन गर्नु पर्ने संस्थाका पदाधिकारीहरु आफू खुशी गर्ने गरेको देखिन्छ ।

प्रवक्ता र महानिर्देशकलाई कार्यालय समयमा नौ मोवाईल फोन गर्ने हो भने दुवैसँग कुराकानी हुन मुश्किल पर्दछ । अर्थात जनतासँगको सम्पर्क हुनै चाहँदैनन् । पछिल्लो समयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको अनुगमन गर्ने छाडेको र काम कर्तव्य अधिकारबाट पन्छन थालेपछि कृषि अनलाइनले समाचार मार्फत झकझकाउने प्रयास गरेको भएपनि कृषि अनलाईनले सम्पर्क गर्दा प्रवक्ता मोहनकृष्ण श्रेष्ठ मात्र होइन महानिर्देशक मतिना बैद्य समेत सम्पर्कमा आउन चाहँदैनन ।

बजारमा गुणस्तरहीन खाद्य सामग्री उपभोक्ताहरुलाई सहज रुपमा विक्री गरिरहेको उजुरी गर्दा समेत विभागले ध्यान नदिएको गुनासो छ । जनताको गुनासोलाई आधार मान्दै त्यस्ता उजुरी परेका कम्पनीहमा गोप्य अनुगमन गरी गुणस्तर चेक जाँच गर्नु पर्ने विभाग विभिन्न ठूलो खाद्य उद्योग, पानी उद्योग, दाना उद्योग, ध्यूतेल उद्योग,चामल दाल उद्योगहरु अनुगमन गर्न छाडेर अन्य काममा अल्झेर बसेको छ ।

जनसरोकार तथा मानिसको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा विभागले वेवास्ता गर्नुले लाखौ उपभोक्ता अहिले ठगिनु पर्ने वाध्यता रहेको छ । ठूलो उद्योगहरुसँग विभागको उच्च कर्मचारीहरुको उठबस भएको आरोप लागिरहँदा प्रवक्ता र महानिर्देशक दुवै सम्पर्क हुन नचाहेपछि अझ शंका बढ्दै गएको छ ।

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०