आइतवार, बैशाख १६, २०८१

पोखरामा शुरु भयो प्रथम प्रादेशिक कृषि यान्त्रिकरण प्रर्दशनी

कास्की । गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले कृषि यान्त्रिकीकरण र आधुनिकीकरणलाई जोड दिएसँगै कृषि यान्त्रिकीकरणका पूर्वाधारहरु पनि निर्माण गर्नु पर्ने बताएका छन् । गण्डकी प्रदेशको पोखरामा शुरु भएको प्रथम प्रादेशिक कृषि यान्त्रिीकरण प्रर्दशनीको उद्घाटनका क्रममा मन्त्री जिसीले सो कुरा बताएका हुन् ।

गण्डकी प्रदेशले कृषि उत्पादनका लागि कृषि यान्त्रिकरणलाई जोड दिँदै विभिन्न किसिमका ट्रयाक्टर लगायका कृषि यन्त्रहरुका लागि अनुदान प्रदान गर्दै आईरहेको भएपनि त्यसको मर्मत सम्भारका लागि स्थानका अभावका कारण किसानहरु समस्यामा परको समेत बताए ।

विशेष गरी स्थानीय तह, प्रदेश सरकारले ट्रयाक्टरका लागि हरेक वर्ष अनुदान दिने गरेको भएपनि मर्मत सम्भारका अभावले किसानहरुले अनुदानमा पाएका ट्रयाक्टर विग्रिने वित्तिकै अर्को ट्रयाक्टर अनुदानका लागि माग्ने प्रबृत्ति बढेको गुनासो गरे । मन्त्री जिसीले कृषि यन्त्र उपकरण व्यवसायीहरुले यन्त्र विक्री गर्ने मात्र नभएर त्यसका मर्मतसम्भारका लागि पनि सर्भिस केन्द्रहरु बनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा गण्डकी प्रदेशका कृषि सचिव सहदेव हुँमागाइँले कृषि उत्पादन बृद्धि र लागत मूल्य घटनाउनका लागि पनि कृषि यन्त्र तथा उपकरणको प्रयोग महत्वपूर्ण रहेको बताए ।

कृषि विभागका महानिर्देशक डा हरिबहादुर केसीले विगत लामो समयदेखि किसानहरुलाई आधुनिकीकरण र यान्त्रिकीकरणकामा प्रोत्साहन गर्दै आईरहेका कारण पनि उत्पादन लागत मूल्य घट्न सहयोग पुगेको बताए ।

आयोजक संस्था नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष कृष्ण शर्माले किसानहरुले प्रयोग गर्ने कृषि उपकरणहरुको मर्मत र सम्भारका लागि सरकारले पनि ध्यान दिनु पर्ने र त्यसका लागि संघ सहकार्य गर्न सँधै तत्पर रहेको बताए । उनले आफूहरुले कृषि मेशिनरी विक्री वितरण गर्ने मात्र नभई विभिन्न जिल्लाहरुमा मर्मत सम्भारका लागि तालिमहरु प्रदान गर्दै आईरहेको समेत बताए ।

संघ निवर्तमान अध्यक्ष खोजराज कट्वालले नेपालमा उत्पादन हुने कृषि सामग्रीलाई सरकारले वेवास्ता गरेको र विभिन्न बहानामा उद्योग सञ्चालन नै गर्न नसक्ने अवस्था बनाएको गुनासो गरे । उनले सरकारले कृषि सामग्री उद्योगलाई हतोत्साह गरी कर लगायतका च्याप्ने काम गरेकोले यस्तै अवस्था रहे उद्योगको साँचो सरकारलाई बुझाउनु पर्ने अवस्था आउने चेतावनी समेत दिए ।

शुक्रबारबाट जारी प्रर्दशनी आईतबारसम्म चल्ने छ । पोखरा महानगरपालिकाले अनुदानमा कृषि यन्त्र प्राप्तिका लागि छनौट भएका किसानहरुलाई सो प्रदर्शनीमा कृषि यन्त्र खरिद गर्ने सहजीकरण समेत गरेको छ । प्रर्दशनीको पहिलो दिनमा नै किसानहरुको निकै चहलपहल बढेको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०