शुक्रबार, बैशाख १४, २०८१

बागमती प्रदेशको भूमि व्यवस्था तथा कृषि मन्त्री फेरिँदा किसानलाई के ?

काठमाडौं । मुलुक सघीय संरचनामा गए पश्चात सात प्रदेशमा सातैवटा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय आए । हिजोको संघमा रहेको एउटा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले थेग्न नसकेको काम प्रदेश सरकार बनेपछि सहज हुुन पर्ने थियो । विगत ३ वर्षलाई हेर्ने हो भने कृषि क्षेत्रका लागि प्रदेशमा रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कागलाई बेल पाक्यो हर्ष न विस्मात भने जस्तै भएको देखिन्छ ।

सातै प्रदेशमा रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानका लागि खासै काम गर्न सकेको देखिँदैन । संघ सहित प्रदेशमा रहेका ८ कृषि मन्त्रीलाई त्यही किसानहरुले तिरेको करबाट पाल्ने काम बाहेक केही पनि भएको छैन ।

अहिले संघ सरकारको परिवर्तसँगै प्रदेशमा पनि सरकारी परिवर्तन हुने मन्त्री फेरिने क्रम देखिएको छ । सातै प्रदेशमा यसले प्राथमिकता पाएको छ । सातै प्रदेशमा रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री फेरिए तर त्यसले व्यवहार फेरिएन ।

बुधबार बागमती प्रदेशमा नयाँ मन्त्रीमण्डल निर्माण भयो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मवारी पाए चन्द्र लामा भने उनको सहायक मन्त्रीका रुपमा नुवाकोटका बद्री मैनालीले जिम्मेवारी लिएका छन् । तर यी दुई व्यक्ति मन्त्री भएर के किसानले गुणस्तीय मल, वीउ सहज पाउँछन् त ?

किसानहरुले उत्पादन गरेको कृषि उपजले उचित मूल्य पाउँछ की पाउँदैन ?मन्त्री फेरिनु भनेको राजनीतिक दलका कार्यकर्ताहरुले नयाँ जागिर पाउनु हो त्यसमा कुनै दुईमत नै छैन तर त्यसबाट जनताले के फाईदा लिए भन्ने कुरामा कसैले बोल्न सकेको देखिँदैन ।

अहिले प्रदेश सरकारको परिवर्तनसँगै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा मन्त्रीहरु फेरिदा किसानहरु उत्साहित हुनु पर्ने थियो तर त्यसो हुन सकिरहेको छैन ।

बागमती प्रदेशमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री फेरिए । चन्द्र लामा मन्त्री भए बद्री मैनाली राज्यमन्त्री तर किसान के त ? जवसम्म नेपाली किसानहरुले मन्त्री नियुक्ति हुँदा खुशी मनाउने दिन आउँदैन तवसम्म यस्ता मन्त्री फेरिन्छन आउछन् जान्छन् । उनका कार्यकर्ताहरुले सरकारी सम्पत्तिमा दोहन गर्न त्यो वाहेक केही पनि हुने वाला छ्रैन । मन्त्री फेरिए जस्तै कृषिमा परिवर्तन आए पो खुशी मनाउनु जति मन्त्री फेरिन्छन् त्यत्ति नै किसानहरुले महंगी, अभाव र समस्यामा पर्ने भएपछि जुन जोगी आएपनि कानै चिरेका भन्दा कृषिमा अरु के नै हुन्छ र ?

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८