शुक्रबार, बैशाख २१, २०८१

जनावरले मकैबाली नष्ट गरेपछि किसान चिन्तित

बैतडी, १७ साउन । मकैबाली जंगली जनावरले नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन् ।
जिल्लाका धेरैजसो ठाउँमा जंगली बँदेल, दुम्सी र भालुले मकैबाली खान थालेको किसानले बताएका छन् । दिउँसो बाँदर र बँदेल तथा राति दुम्सी र भालुले मकैबाली खान थालेपछि किसान हैरान भएका हुन् । मकैबाली जोगाउन खेतमा पहरा दिन थालेको पाटन नगरपालिका–५ कनेडाका मोहन ठगुन्नाले बताए । “दुम्सीले मकैबाली सखाप पारेको छ,” पाटन नगरपालिका–५ अठतोलाका हीरा पाण्डेले भने । जंगली बँदेलका कारण दिउँसो घाँस काट्नसमेत समस्या भएको छ । रातभरि पहरा दिएपनि बँदेलले मकैबाली नष्ट गर्ने गरेको पाण्डेले बताए ।
पञ्चेश्वर, शिवनाथ, दोगडाकेदार, सुर्नया गाउँपालिकालगायत क्षेत्रमा जंगली बँदेलले मकैबाली नष्ट गर्न थालेको छ । भर्खर घोगा लाग्न लागेको मकै बँदेलले नष्ट गर्न थालेको तल्लोस्वराडका राजेन्द्र कलौनीले बताए । पञ्चेश्वर र शिवनाथ गाउँपालिकाको मल्लिमड, दोवखर्क, पोखरेठी, सौगाडा, भैँसीखर्कलगायत क्षेत्रमा बँदेलका कारण किसान हैरान भएका छन् ।

प्रकाशित मिति: मङ्लबार, साउन १७, २०७४