सोमवार, बैशाख २४, २०८१

किसान आयोगमा डलरवादीहरुको दावा

काठमाडौं, फागुन । राष्ट्रिय किसान आयोगमा डलरवादीहरुले कब्जा गर्ने सोच सहित अगाडि बढेपनि एमालेका लागि कृषि विकास मन्त्रालयले जारी गरेको दोस्रो सूचनाले पनि हावा खाएको छ । किसान आयोग राजनीतिक भागबण्डामा नपरोस् भन्दा भन्दै पनि अन्ततोगत्वा भागबण्डाकै जन्जालबाट बाहिर आउन नसक्ने भएपनि किसान आयोग पनि भर्ति केन्द्र जस्तै बन्ने भएको छ । किसान आयोग गठन प्रक्रियालाई पारदर्शि बनाउने भन्दै कृषि विकास मन्त्रालयको वेवसाईटमा दुई पटकसम्म सूचना राख्ने काम पनि गरियो । तर किसान आयोगका लागि राजनीतिक सहमति जुट्न सकेन । अहिले फेरि पहिलो सूचनाबाट थप हुंदै ५ सदस्यका लागि २४ सदस्यको आवेदन परेको छ ।
आवेदन दिनेहरुमा कृषिमा लागिरहेको किसानदेखि कृषि विकास मन्त्रालयबाट नै विदा भएका सहसचिव, सचिवसम्मले आयोगको सदस्यसम्म आवेदन दर्ता गराएका छन् । भने गैरसरकारी संस्था एनजिओ वालाहरुले पनि किसान आयोगमा आफ्नो पकड जमाउने प्रत्यन गरिरहेका छन् । गैर कानूनी किमिले गठन गर्न लागिएको भनिएको किसान आयोगको अध्यक्ष पदमा माओवादी नेता चित्रबहादुर श्रेष्ठलाई नियुक्ति गरिसकेपछि अहिले सदस्य पदका लागि तंछाड मंछाड नै भईरहेको छ ।
यही तंछाड मंछाडको वीचमा कृषि विकास मन्त्रालयले केही समय अगाडि मात्र किसान पेन्सन वितरण गर्नका लागि अध्ययन गर्ने ठेक्का पाएका माओवादी नेता हरि रोक्का र सोमत घिमिरे मध्ये घिमिरेले पनि किसान आयोगको सदस्यमा दोस्रो पटक प्रकाशित सूचनाका आधामार आवेदन दर्ता गरेका छन् ।
किसान पेन्सनका लागि कृषि विकास मन्त्रालयबाट पचास लाख लिएर अध्ययन गर्ने गैर किसानका रुपमा चिनिएका घिमिरेले किसान आयोगको सदस्य बन्न लालायित हुनुलाई किसान आयोग किसानको पक्षमा छैन भन्ने कुरा अहिले चर्चामा छ ।
किसान आयोगमा आवेदनका विषयमा सोमत घिमिरेसंग सम्पर्क गर्दा उनले आफूलाई योग्य किसान विज्ञ भएको भन्दै वैकल्पिक अध्ययन केन्द्रका सचिव भएको भन्दै सो विषयमा बोल्नै चाहेनन् । किसान आयोग गठन प्रक्रिया र पटक पटक निकालिएको सूचनाका बारेमा जानकारी लिनका सम्पर्क गर्दा कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीले भने फोन उठाएनन् ।

प्रकाशित मिति: शनिबार, फाल्गुन २१, २०७३