शुक्रबार, बैशाख २१, २०८१

प्लाष्टिक व्यवस्थित नगर्दा कृषि उत्पादनमा असर

कञ्चनपुर, माघ । कञ्चनपुरमा प्लास्टिकजन्य पदार्थले कृषिको उत्पादनमा गम्भीर असर पु¥याउँदै आए पनि यसको निन्त्रणको प्रयास हुनसकेको छैन । खेतीयोग्य जग्गामा प्लास्टिकका झोला यत्रतत्र फालिँदा माटोको उर्वराशक्तिमा कमीआई कृषि उत्पादनमा असर परेको छ ।
प्लास्टिकका झोला लामो अवधिपछि पनि नष्ट नहुने भएका कारण हानिकारक रसायन जम्मा भई माटो तथा पानीलाई दुषित बनाउने र जग्गाको उर्वराशक्ति घटाइ कृषि उत्पादनमा असर परेकोे कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताए ।
प्लास्टिकका कारण बिरुवाको जीवनचक्रमा असर पारी जरा फैलिन नदिई उत्पादनमा कमी आएको छ भन्दै उनले भने, “तथ्याङ्कगत विवरण कार्यालयसँग नभए पनि बजार क्षेत्र र त्यसका आसपासका क्षेत्रका ९० प्रतिशत जमिनमा प्लास्टिकजन्य पदार्थका कारण उर्वराशक्तिमा ह्रास आएको पाएका छौंँ ।”
प्लास्टिकजन्य पदार्थले पु¥याउने हानीबारे सर्वसाधारणमा चेतानाको कमीले जथाभावी फालिदा जमिनमुनि माटोको चिसोपनलाई समेत घटाउने भएको अधिकृत जोशीले बताए । कृषिको उत्पादन ह्रास आउनुको मुख्य कारणमध्ये प्लास्टिक चुनौतीका रूपमा रहेको उल्लेख गदै उनले यसबाट किसानको उत्पादन दश प्रतिशतले घटेको बताए । माटोमा हुने पोषकतत्वको प्रवाहलाई प्लास्टिकले रोक्नुका साथै सूर्यको किरणलाई भित्री सतहसम्म पुग्नबाट रोकी जमिनमा हुने प्राकृतिक प्रक्रियामा अवरोध सिर्जना गर्ने कार्यसमेत गर्दै आएको कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत देवीदत्त कलौनीले बताए ।
बेदकोट नगरपालिका चम्फापुरका किसान जयप्रकास राना सडक छउकै खेत भएकाले प्लास्टिकका झोला व्यवस्थापन गर्न चुनौती थपिएको बताउंछन् । कृषिक्षेत्रसँगै प्लास्टिकका कारण मानवस्वास्थ्यमा समेत गम्भीर असर पर्न थालेको छ ।
‘प्लास्टिकजन्य पदार्थ ग्रामीण क्षेत्रका बासिन्दा दाउरा सल्काउनका लागि दैनिक प्रयोग गर्र्दै आएकाले उनीहरूको स्वास्थ्य निकै जोखिममा रहेको पाएका छौंँ जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी हेमराज जोशीले जानकारी दिए, “प्लास्टिक जलाउँदा निस्कने हानिकारक ग्यासले क्यान्सरजस्तो रोगसँगै छालाका रोग निम्त्याउने खतरा छ ।”
स्वास्थ्य चौकी र अस्पतालमा धेरै बिरामी छालाका हुने गरेका र तीमध्ये नसर्ने पेटभित्रको क्यान्सरका बिरामीसमेत फेला पर्ने गरेको अधिकृत जोशीले बताउछन् । प्लास्टिका कारण गतवर्ष ढलको पानी थुुनिनेसँगै घरभित्रै वर्षाको पानी पसेर नोक्सानी पु¥याएको झलारी बजारका व्यवसायी शिवराज भट्टले बताए । जानकारका अनुसार प्लास्टिकजन्य पदार्थ पेट्रोलियम कच्चा पदार्थबाट बनाइने भएकाले यसमा पोलिमरसँगै विभिन्न किसिमका रङ्ग र रसायनिक पदार्थको प्रयोग गरिने भएकाले मानवस्वास्थ्यका लागि निकै घातक छ ।
जलवायु प्रदूषण, जैविक विविधतामा ह्रास ल्याउने कार्यसमेत प्लास्टिकले गर्दै आएको छ । हानिकारण प्लास्टिकको झोलाको प्रयोगको सट्टा जुट वा कपडाबाट बनाइएका पुनः प्रयोग गर्न मिल्ने झोलाको प्रयोग गरिनुपर्ने वन तथा वातावरणको क्षेत्रमा क्रियाशील मानसिंह भण्डारीको धारणा छ ।
प्लास्टिक झोला नियमन तथा नियन्त्रण निर्देशिका, २०६८, वातावरण संरक्षण ऐन, २०५३ तथा वातावरण संरक्षण नियमावली, २०५४ ले वातावरणमा प्रदूषण गर्न नपाइने व्यवस्थासँगै फोहरमैला व्यवस्थापन ऐन, २०६८ ले जथाभावी फोहर गर्न नपाइने तथा यस्तो कार्य गरेको पाइएमा सजायको व्यवस्था भए पनि ऐन नियम कार्यान्वयन नहँुदा प्लास्टिकको प्रयोग बढेको हो ।

प्रकाशित मिति: आइतवार, माघ १६, २०७३