बिहिबार, बैशाख २०, २०८१

गाईपालन गर्ने किसानहरु विस्थापित हुने डर

काठमाडौं, माघ । पशुपन्छी पालन व्यवसाय जसरी फस्टाईरहेको छ । त्यसैगरी पशुपालन व्यवसायमा लागेका किसानहरु जोखिममा पनि पर्दै गईरहेको छन् । पशुपन्छी विकास मन्त्रालयले पशुपालन क्षेत्रमा संलग्न किसानहरुका लागि गर्नु पर्ने नीति नियमहरुलाई कार्यान्वयन गर्न नसक्दा गाईपालन क्षेत्रमा विस्तारै संकटका घेराहरु देखिन थालेका छन् ।
दूध उत्पादनलाई प्राथमिकतामा राखेर युवा पुस्ता पछिल्लो समयमा गाईपालन व्यवसायमा जसरी आकर्षित भईरहेका छन् । त्यसैगरी भुक्तभोगी किसानहरु यो क्षेत्रबाट नै पलायन हुने तरखर गरिरहेका छन् । मुलुक दूधमा आत्मनिर्भरत हुने तरखर गरिरहंदा दूध उत्पादन गर्ने किसानहरु विस्थापित हुने अवस्था आउन लाग्दा पनि सरोकारवालाहरुले त्यत्ति ध्यान दिन सकिरहेका छैनन् । विशेष गरी नेपालको पशुपालन व्यवसाय चरनमा आधारित हुन सकेन । जवसम्म चरनमा आधारित भएर पशुपालन व्यवसायलाई अगाडि बढाउन सकिन्न तवसम्म यो क्षेत्रमा लाग्ने किसानहरुले संधै घाटा नै सहेर बस्नु पर्ने हुन्छ ।
मुलुकभर पशुपालन व्यवसाय गरिरहेका साना किसान हुन् वा व्यवसायिक किसानहरु नै किन नहुन् चरन अभावका कारण दानामा भर पर्नु परेको छ । किसानहरु दानामा भरपरेकै कारण अहिले बजारमा गुणस्तरहीन दानाहरुको विक्री वितरण पनि बढ्दै गईरहेको छ । गुणस्तरहीन दाना प्रमाणित हुंदा पनि खाद्य तथा प्रविधि गुण नियन्त्रण विभागले खासै केही कार्वाही प्रक्रिया नगर्ने भएका कारण पनि दाना व्यवसाय एकलौटी र मन लाग्दो किसिमले सञ्चालन भईरहेको छ ।
गुणस्तरही दाना अभावका कारण किसानहरु प्रत्यक्ष मारमा परिरहेका छन् । अझ महत्वपूर्ण कुरा के छ भने दूध उत्पादन प्रयोजनका लागि पालिएका गाई फार्महरुलाई लक्षित गरी दाना उत्पादन गरिरहेको उद्योगीहरुले दानममा युरिया मल मिसाउने गरेको समेत सुन्नमा आएको छ । युरिया मिसावट गरिएका दानाले तत्कालका लागि दूध उत्पादन बढी देखिएको जस्तो भएपनि त्यसले गाईभैसीको स्वास्थ्यमा समेत असर पार्ने पशु चिकित्सकहरुले नै बताईरहेका छन् । यही कारणले पनि दैनिक जसो गाईभैसी लगायतका पशुहरुमा विभिन्न खाले समस्या आईरहेका छन् । गुणस्तरहीन दाना वाध्यतामा प्रयोग गरी पशुपालन गरिरहेका किसानहरुको अवको बाटो नै पेशाबाट पलायन हुनु हो । अहिले पशुपालनमा आकर्षित बनिरहेको युवा पुस्ताका किसानहरु विस्थापित हुने डर देखिएको छ । त्यसो भएको खण्डमा नेपाल दूध तथा मासुजन्य उत्पादनमा आगामी बीस बर्ष पछाडि धलेलिने छ  ।

प्रकाशित मिति: सोमवार, माघ ३, २०७३