सोमवार, बैशाख २४, २०८१

बंगुर उत्पादनमा आधुनिक प्रविधि आवश्यक : सचिव दास

काठमाडौं, पौष । पशुपन्छी विकास मन्त्रालयका सचिव डा. अन्नपूर्णनन्द दासले बंगुरपालन व्यवसायलाई आधुनिक प्रविधि मार्फत नगरेर बंगुर पालन व्यवसाय संकटमा आउने बताएका छन् । परम्परागत रुपमा बंगुर पालन व्यवसाय गर्दा फोहोरमा पालिने गरेको भन्दै बंगुरको मासु उपभोग गर्नेहरुको संख्या बढ्न नसकेको उनले बताए । annapurna-das
पशुपन्छी विकास मन्त्रालयको स्थापना दिवसको अवसरमा पारेर सामर्थ, सिप्रेडद्धारा आयोजित कार्यक्रममा बोल्दै सचिव दासले सो कुरा बताएका हुने । सो अवसरमा उनले बंगुर व्यवसायलाई अन्य पशुपन्छी व्यवसाय जस्तै विकास गर्ने हो भने बंगुर पाल्ने स्थान र त्यसलाई प्रयोग गरिने खाद्य पदार्थहरुको बारेमा जनसाधारणमा देखिएको भ्रमलाई हटाउने गरी प्रचार प्रसार गर्न पनि उनले आग्रह गरे ।
फोहोर ख्वाउने र फोहोर मै पालिने भएको भ्रम उपभोक्ताहरुमा रहेको भन्दै बंगुर उत्पादन व्यवस्थित रुपमा गरिन थालिसकिएकोले निर्यात योग्य हुने गरी बंगुरको मासु गुणस्तरीय रुपमा उत्पादन गर्न उनले व्यवसायीहरुलाई आग्रह गरे ।
कार्यक्रममा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. केशवप्रसाद प्रेमीले अहिलेसम्म बनेका कृषि नीतिहरुमा बंगुरको कुरा पर्न नसकेको बताए । बंगुर निर्यात योग्य भएकाले बंगुर पालन व्यवसायलाई व्यवस्थित बनाउनका लागि छुट्टै नीति ल्याउनु पर्ने बताएका थिए । डा. प्रेमीले बंगुरको मासु नेपाली बजारमा माग पूरा गर्न सक्षम भएकोले आत्मनिर्भर बनिसकेको बताए । बंगुरको मासुको उत्पादनमा आत्मनिर्भर बनिसकेका कारण निर्यात गर्ने किसिमले बंगुरको व्यवसाय अगाडि बढाउनु पर्नेमा उनले जोड दिएका थिए ।
सोही कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक डा. विमलकुमार निर्मलले बंगुर पालन पाठापाठी विक्री प्रयोजनका लागि बढी उत्पादन भईरहेको बताए । बंगुरपालन व्यवसायप्रति सकारात्मक सोच अगाडि बढ्दै गईरहेकाले व्यवसायीहरु पनि बढ्दै गएको जानकारी दिएका थिए ।
कार्यक्रमको अध्यक्ष समेत रहेको पूर्व कृषि सचिव एवं सिप्रेडका कार्यकारी निर्देशक जयमुकुन्द खनालले बंगुर उत्पादनमा मुलुक आत्मनिर्भर भएको भएतापनि निर्यात गर्न चुनौति रहेको खुलासा गरे । उनले मन्त्रालयले पोर्क पार्कको अवधारणा ल्याएकोमा खुशी व्यक्त गर्दै बंगुर व्यवसायीहरुलाई हेर्ने दृष्टिकोणमा वितग भन्दा अहिले परिवर्तन भईसकेको बताए ।

प्रकाशित मिति: बुधबार, पुस १३, २०७३