आइतवार, बैशाख २३, २०८१

करोडौँको बेमौसमी आलु उत्पादन

भक्तपुर, १३ मङ्सिर । कोदो रोप्ने बारीमा बेमौसमी आलु फलाउँदै आएका भक्तपुर नगरकोट नगरपालिका सुडालका किसानले आलुको उचित मूल्य नपाएपछि मर्कामा परेका छन् । मकै र कोदो फल्ने बारीमा करोडाँैको आलु फलाए पनि उचित मूल्य नपाएपछि यस वर्ष सोचेजस्तो आम्दानी नभएको किसानको गुनासो छ ।
जिल्ला विकास समिति स्थानीय विकास कोषको सहयोगमा बेमौसमी आलुखेतीमा आकर्षित भएका यहाँका पाँच सयभन्दा बढी बासिन्दाले हरेक वर्ष आलुखेती गर्दै आएका हुन् । उक्त कोषले नगरकोट नगरपालिका–८ सुडालस्थित नेपाल गाउँमा गरेको बेमौसमी आलुखेतीको अनुगमनका क्रममा यहाँका किसानले आलुले पर्याप्त बजार नपाएर मूल्य घट्दा मर्कामा परेको बताएका हुन् ।
आलु खन्दै गरेकी गोपिनी नेपालले पाँच रोपनी जग्गामा आलुखेती गर्दा गत वर्ष तीन लाख रुपैयाँ आम्दानी गरेकामा यस वर्ष एक लाख रुपैयाँ पनि नआउने भएको बताउनुभयो । यस वर्ष आलु राम्रै उत्पादन भए पनि मूल्य नपाउँदा विगतको वर्षमा जस्तो फाइदा नहुने भएको उनको भनाइ थियो ।

प्रकाशित मिति: सोमवार, मंसिर १३, २०७३