आइतवार, बैशाख २३, २०८१

कृषि सचिव भनिएका अन्नपूर्णा बाटैबाट किन फकिए

काठमाडौं, मंसिर । कृषि विकास मन्त्रालयका सचिव उदयचन्द्र ठाकुर उमेर हदका कारण अवकाशका लागि विदाइ भएको ठ्याक्कै एक महिना पछि सरकारले बन मन्त्रालयका सहसचिव अन्नपूर्णा नन्द दाशलाई सचिवमा बढुवा गरेको छ । सचिवमा बढुवा भएका अन्नपूर्णा नन्द दाश आफ्नो जिम्मेवारी सम्हालनका लागि सोमबार दिउंसो १ बजे कृषि विकास मन्त्रालयमा आउने प्रधानमन्त्री कार्यालयको खवरले कृषि विकास मन्त्रालयका सहसचिवदेखि मातहतका सम्पूर्ण कर्मचारीहरु फूलमाला लिएर बसेका थिए । लामो पर्खाइसम्म पनि कृषि विकास मन्त्रालयका लागि बढुवा भएका सचिव दाश जिम्मेवारी सम्हाल्न आएनन् । कृषि विकास मन्त्रालय मातहत रहेको १२ वटा कार्यक्रम निर्देशनालय, कृषि विभाग, नार्क लगायत कार्यलयका प्रमुखहरु सचिवको स्वागतका लागि लस्कर लागेका थिए । annapurna-das
कृषि विकास मन्त्रालय दुलही अन्माउन लागेको जस्तै घडा, फूलमालाले सजाइएको भएपनि सचिव आउने अत्तोपत्तो नभएपछि उपस्थित सहसचिवहरु, उपसचिवहरु एवं मन्त्रालयका कर्मचारीहरु नाडीको घडीतिरै आंखा डुलाईरहेको थिए । ३ घण्टाको पर्खाइपछि पनि सचिव नआएपछि कृषि विकास मन्त्रालयका प्रशासन महाशाखाका सहसचिव काशीराज दाहालले मोवाईलबाट जानकारी लिए । दाहालले अमिलो अनुहार बनाउंदै उपस्थित कर्मचारीहरुलाई ‘सरी’ सचिव आज आउन नभ्याउने रे भोली स्वागत गर्ने भने पछि सवै कर्मचारी हातमा लिएका फुलका गुच्छा, माला मन्त्रालय कै एउटा कुनामा थन्क्याएर आ आफ्नो बाटो लागे । तर सचिव किन आएनन् भन्ने कुरामा खासै चासो भने कसैले पनि दिएनन् । कसैले भने प्रधानमन्त्रीसंग भेटेर आउने कसैले भने मुख्य सचिवले व्रिफिङ गर्दै छन् रे । तर सचिव नआउनुको रहस्य अर्कै भेटियो ।
कृषि सचिवमा बढुवा भए लगतै सोमबार मन्त्रालय हाजिर हुन आउने तयारीमा रहेका अन्नपूर्ण नन्द दाशलाई माथिको निर्देशनले मन्त्रालय आउनबाट रोकेको थियो । आउंदो मंसिर १८ गते पशुपन्छी विकास मन्त्रालयका सचिव उत्तम कुमार भट्टराई पनि अवकाश प्राप्त हुंदैछन् । अन्नपूर्णा दाशलाई दुइचार दिन अल्मल्याएर पशुपन्छी विकास मन्त्रालयको सचिव बनाएर कृषिमा आउन नदिने खेलमा कृषि विकास मन्त्रालय र बन मन्त्रालय कै सचिवका लाईनमा रहेका केही सहसचिव लागेका कारण उनी आज कृषि विकास मन्त्रालयमा जिम्मेवारी सम्हाल्न आउंदा आउंदै बाटोबाट फर्केको बताइएको छ । मन्त्रालयमा जिम्मेवारी सम्हाल्न आउदै गर्दा मुख्य सचिव सोमलाल सुवेदीले दाशलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर तत्काल जिम्मेवारी बहन नगर्न निर्देशित दिएकाले उनले जिम्मेवारी लिनबाट बञ्चिन भएको श्रोतले बताएको छ ।
कृषि विकास मन्त्रालयमा सचिव पद रिक्त भएको अवस्थामा क्लष्टर भित्रैबाट बढुवा भएका सचिवलाई सो मन्त्रालयमा हाजिर हुन नदिने षडयन्त्रले आगामी दिनमा नराम्रो नजिर बस्ने कृषि विकास मन्त्रालयका उच्च अधिकारीहरुको भनाई छ ।

प्रकाशित मिति: सोमवार, मंसिर १३, २०७३