मङ्लबार, बैशाख २५, २०८१

पशु सेवा विभागको महानिर्देशकमा डा विमल

काठमाडौं, मंसिर । पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेको पशु सेवा विभागको महानिर्देशक पदमा डा विमल कुमार निर्मललाई ल्याइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले नै हेरिरहेको पशुपन्छी विकास मन्त्रालय मातहतको सो विभागका महानिर्देशक केशवप्रसाद प्रेमीलाई भने विभागबाट मन्त्रालय सरुवा गर्ने तयारी समेत गरिएको छ । प्रधानमन्त्री कार्यालय श्रोतका अनुसार विभागका महानिर्देशक प्रेमीले महानिर्देशक पदमा दुई बर्षभन्दा बढी समय विताईसकेकोले सरुवा गर्नु परेको बताएपनि महानिर्देशक पद दुई बर्षको मात्र रहने भन्ने कतै पनि उल्लेख गरिएको छैन । यस अघि पनि सो विभागमा तीन बर्षभन्दा बढी समयसम्म महानिर्देशकहरुले पद सम्हालिरहेको देखिन्छ । Bimal kumar nirmal
यद्यपी प्रेमीलाई सरुवा गरिएपनि महानिर्देशकका रुपमा ल्याएका डा विमलकुमार निर्मललाई वरिष्ठताका आधारमा नै महानिर्देशक बनाइएको छ । वरियता क्रममा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता एवं सहसचिव श्याम पौडेल सवैभन्दा सिनियर रहेका छन् भने दोस्रो नम्वरका सहसचिवका रुपमा निर्मल नै रहेको मन्त्रालयको प्रशासन महाशाखाले जनाएको छ ।
महानिर्देशक बनेका डा . विमलकुमार निर्मल पशु सेवा विभागको उपमहानिर्देशक एवं हिमाली आयोजनाको आयोजना निर्देशकका रुपमा कार्यरत थिए । विभागका उपमहानिर्देशक भएर आउनु अगाडि उनी पशु उत्पादन निर्देशनालयका कार्यक्रम निर्देशका थिए । उत्पादनमा रहंदा पनि उनले आफूलाई पशुपन्छी उत्पादनका क्षेत्रमा सक्रिय तुल्याएका थिए । राष्ट्रिय पशु प्रजनन् केन्द्रमा प्रमुख हुंदा पनि उनले आफूलाई सक्षम चिकित्सकका रुपमा उभ्याएको डा केशवप्रसाद प्रेमीकै भनाई रहेको छ ।
महानिर्देशकबाट मन्त्रालयका सरुवा गरिएको विषयमा प्रश्न गर्दा डा. प्रेमीले सरुवा नियमित प्रक्रिया भएको जनाउंदै विभागले सक्षम नेतृत्व पाएकोमा खुशी व्यक्त गरे । पशु चिकित्सा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउंदै आईरहेका डा.निर्मल नेपाल भेटेरिनरी एशोसिएसनका पूर्व अध्यक्ष समेत हुन् । उनले पशु सेवा क्षेत्रमा योगदान गरे बापत गत बर्ष कृषि पत्रकार समाजले सम्मान समेत गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७३