आइतवार, जेष्ठ ६, २०८१

पशुपालनबाट मासिक एक लाख

बेनी, ३ मङ्सिर । कुहुँ गाविस–५ पैयुँपाटाका दिलबहादुर किसान पुशपालन र कृषि पेसाबाट मासिक रु एक लाखसम्म कमाइ गर्न थालेका छन् । मलेसिया, कतार र दुबईमा एक दशकसम्म काम गरेका किसानले विदेशमा कमाइ गर्न नसकेपछि गाउँ फर्किएर रु दुई लाख ऋण खोजी कृषि र पशुपालन सुरु गरेका हुन् ।
उनले तीन रोपनी जग्गामा कुखुरापालन, बङ्गुरपालन, बाख्रापालन, सुन्तला, केरा र तरकारीखेती गरेका छन् । “विदेशमा सोचेजस्तो कमाइ छैन । त्यहाँ गर्ने दुःख गाउँमै गरे मनग्य आम्दानी गर्न सकिँदो रहेछ,” उनले भने ।
अहिले उनले रु ३० लाख लगानी गरेका छन् । किसानले कुखुराको दानासमेत बिक्री गर्ने गरेका छन् । जिल्लाका बाबियाचौर, थाइवाङ, भर्जुला, हिँदी, पूर्णगाउँ, पुलाचौरको डडुवालगायत क्षेत्रका मासु पसल र सर्वसाधारणलाई उनले मासु बिक्री गर्दैआइरहेका छन् । “आफैँ मालिक र कामदार भएर काम गर्दैआएको छु,” उनले भने ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७३