आइतवार, जेष्ठ ६, २०८१

सुन्तलामा रोगको प्रकोप

पोखरा, ३ मङ्सिर । पछिल्ला समयमा कास्कीमा सुन्तलाको उत्पादन बर्सेनि घट्दै गएको छ ।जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत अजय अधिकारीका अनुसार सिक्टस ग्रिनिङ, ढुसी, पतेरोलगायतका रोगका कारण जिल्लामा सुन्तलाको उत्पादन घटेको हो ।अघिल्लो वर्ष एक हजार ४०० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको थियो भने ८०३ हेक्टर मात्र उत्पादनशील क्षेत्र रहेको थियो । यस वर्ष उक्त क्षेत्रफल घटेर एक हजार ३५० हेक्टर पुगेको छ । करिब ७५० हेक्टर मात्र उत्पादनशील क्षेत्र रहेको छ । अघिल्लो वर्ष जिल्लामा छ हजार ७०० मेट्रिक टन सुन्तला उत्पादन भएकामा यस वर्ष घटेर छ हजार २०० मेट्रिक टन पुग्ने अनुमान कार्यालयको छ ।
सुन्तलाका पकेट क्षेत्र निर्मलपोखरी, भरतपोखरी, कृष्ति, थुम्कीलगायतका स्थान हुन् । तर निर्मलपोखरी र भरतपोखरीमा सिक्टस ग्रिनिङलगायत रोगका कारण सुन्तलाखेतीमा ह्रास आएको छ । सुन्तलाखेतीको विकास र विस्तारका लागि कृषि कार्यालयले बगैँचा सुदृढीकरण कार्यक्रम सञ्चालन गरेको छ । अधिकांश स्थानमा रोगको प्रकोपका कारण सुन्तलाका बोट धमाधम मर्न थालेका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७३