सोमवार, बैशाख २४, २०८१

११ : ५२ को समय भाईटिकाको उत्तम साइत

कार्तिक १६, काठमाडौं । हिन्दू धर्मालम्वीहरुको दोस्रो महान् चाडका रुपमा रहेको तिहारको आज अन्तिम दिन भाईटिका । यमपञ्चकको पाँचौ दिन दिदी बहिनीको हातबाट टिका लगाउने चलन रहेको छ । आज दिदी बहिनीहरुको हातबाट टिका लगाउने उत्तम साईतका रुपमा मध्यान्ह ११ बजेर ५२ मिनेटलाई उत्तम साईत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । bhai-tika
लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा माकण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आजा गरी दिदीबहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ ।

दाजुभाइ वा दिदी बहिनी नहुनेहरुले नजिकका आफन्तसँग वा अन्य कसैलाई दिदी बहिनी वा दाजुभाइ मानेर टीका लगाउने चलन छ । कसैले मठ मन्दिरमा गएर पनि टीका लगाउने गर्दछन् ।यमपञ्चकको पाँच दिन यमराजले विश्राम लिन्छन् र कसैलाई पनि यमलोक लैजाँदैनन् भन्ने मान्यता छ । आज यमराजले पनि आफ्नी बहिनीसँग टीका लगाउने पौराणिक कथन छ ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक १६, २०७३