आइतवार, बैशाख १६, २०८१

कृषि सञ्चारको विकासमा मन्त्रालय उदासिन

काठमाडौं, श्रावण । बहुसंख्यक नेपालीहरुको जिविकोपार्जन र आयश्रोतको महत्वपूर्ण पाटो रहेको कृषि क्षेत्रका बारेमा किसानहरुले स्वविवेकमा काम गरिरहेका छन् । परम्परागत रुपमा जे चल्दै आएको थियो वा जे देखियो र गरियो त्यसलाई नै निरन्तरता दिएका छन् । आफ्ना खेती राम्रो बनाउनु पर्दछ भन्ने सोचले मलकति हाल्ने,बीउ कस्तो रोप्ने भन्ने कुरा पनि अनुमान कै भरमा हिजो पुर्खाले गर्दै आएका काम हेरर नै जानेका छन् । तर त्यत्तिले मात्र हाम्रो कृषि क्षेत्रले फड्को मार्ला ? कृषि क्षेत्रमा विकास भएका प्रविधि तथा आधुनिकीकरणका बारेमा अझ बढी किसानहरुलाई जानकारी गराउने काममा कृषि विकास मन्त्रालय कति सक्षम भएको छ । कृषि प्रसारमा मन्त्रालयले कत्तिको भूमिका निर्वाह गर्न सकेको छ ? भन्ने कुरा अहम् विषय बन्दै गईरहेको छ ।
दूरदराजका किसानहरु कृषि प्राविधिकहरुको पहुंचभन्दा बाहिर छन् । किसानका दैलामा कृषि प्राविधिक पुग्ने होइन, कृषि सेवा केन्द्रमै किसानहरु पुगेपनि प्राविधिक पाउन मुश्किल पर्ने गरेको छ । जवसम्म किसानहरुलाई कृषि प्रविधि, कृषि यान्त्रिकीकरणका बारेमा जानकारी दिन सकिन्न तवसम्म कृषि क्षेत्रको विकास गर्छु भन्नु केवल आश्वासन मात्र होला । अहिले कृषि विकास मन्त्रालयले परम्परागत रुपमा गरिएको कृषिलाई व्यवसायिकीकरण गर्ने ठूलो नारा लिएर अगाडि बढिरहेको छ । के नारा ल्याउंदैमा कृषि क्षेत्रको व्यवसायिकतामा बृद्धि हुन्छ ? किसानहरुले उत्पादन गर्ने कृषि उपजको उत्पादन लागत मूल्यमा कमी ल्याउनु पर्दैन ? उपभोक्तासम्म पुग्ने कृषि उपज गुणस्तरीय उत्पादन हुनु पर्दैन ? यदि पर्ने हो भने त्यसका लागि सरकारले के गरिरहेको छ त ? सरकारले आफ्नै मातहतमा रहेको सञ्चार माध्यमहरुलाई किन कृषि मैत्री बनाउन सकिरहेको छैन ? किनकी कृषि विकास मन्त्रालय स्वयं कृषि सञ्चारप्रति उदासिन देखिएको छ । अहिले मुलुकभर सतप्रतिशत कृषिका विषयमा समाचार प्रकाशन गरी नियमित प्रकाशन भईरहेको एक साप्ताहिक, पाँच मासिक पत्रिका मात्र रहेका देखिन्छन् । मन्त्रालय मातहतमा नै कृषि सूचना तथा सञ्चार केन्द्र स्थापना गरिएपनि समुचित प्रयोग गर्नका लागि चुकेको छ । अझै उही बुढी आम्मैको कथाभित्रै दङ् पार्ने प्रयास गरिरहेको देखिन्छ । बढ्दो सञ्चार माध्यम र प्रविधिलाई कृषि मैत्री बनाउने काममा ध्यान दिन सकेको देखिंदैन । अझ भन्ने हो भने निजी क्षेत्रबाट सञ्चालित कृषि सञ्चार माध्यमहरुलाई त पूर्ण रुपमा नै वेवास्ता गरेको छ भन्दा फरक नपर्ला !
यदि मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने रणनीति लिने र कृषिमा आधुनिकीकरण, यान्त्रिकरण र व्यवसायिकीकरण गर्ने हो भने कृषि सञ्चारप्रति उदासिन होइन हातका औंलामा गन्न सकिने कृषि सञ्चार माध्यमहरुलाई सहयात्रीका रुपमा हेर्ने हो भने त्यसले कृषि क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । यस तर्फ कृषि विकास मन्त्रालय र सम्वन्धित सरोकारवाला निकायले बेलैमा सोच्ने हो कि ?

प्रकाशित मिति: मङ्लबार, साउन ११, २०७३