मङ्लबार, बैशाख २५, २०८१

काठमाडौ महानगरले पशुबधशाला अनुगमन गर्ने

काठमाडौँ, २३ चैत । उपत्यकाको फोहर थप व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाले मासुजन्य जनावरबाट निस्कने फोहर आयात गरिने जिल्लामा नै व्यवस्थापन गरी खानयोग्य मासु मात्र प्याकिङ गरी ल्याउने तयारी गरेको छ ।
महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठका अनुसार उपत्यकामा ल्याइने अधिकांश मासु बाहिरी जिल्लाबाट आयात गरिने हँदा जुनजुन जिल्लाबाट मासु आयात गरिन्छ सोही जिल्लामानै फोहर व्यवस्थापन गरी सफा खानयोग्य मासु मात्र ल्याउन लागिएको हो । kmc
“अब केही समयमानै विभिन्न जिल्लाबाट मासु प्याकिङ गरी खानयोग्य मात्र ल्याइने छ ।” प्रमुख श्रेष्ठले बताए । श्रेष्ठका अनुसार जुन जिल्लाबाट मासु आयात गरिन्छ सोही स्थानमा मासुजन्य वस्तुबाट निष्कने दिसा, हड्डी, छाला, रौँलगायतका फोहरको व्यवस्थापन गरी ल्याइन लागेको हो । त्यसको लागि नेपाल सरकार, महानगरपालिका, मासु व्यवसायीको सहयोग आवश्यक पर्छ ।
यसले गर्दा उपत्यकावासीले सफा मासु खान पाउने महानगरपालिकाले विश्वास लिएको छ । मासु उत्पादन हुने गरेका जिल्लाको केही स्थानमा कोल्ड स्टोरको व्यवस्था गरी मासुको प्याकिङ गरी उपत्यकामा ल्याइनेछ ।
महानगरपालिकाले काठमाडौँ उपत्यका र उपत्यका बाहिर रहेका बधशालाको अनुगमन गर्ने भएको छ । अनुगमनको क्रममा अव्यवस्थित रहेका बधशालालाई व्यवस्थापन गर्न लगाइने पनि महानगरले जनाएको छ । सुनसरी, वीरगन्ज, नेपालजन्ज, बर्दिया, धनगढी र मलङ्गवा बढी मात्रामा मासु आयात गर्ने स्थान रहेकाले सोही स्थानमा रहेका बधशालाको विशेष अनुगमन गरिनेछ । सञ्चालित सबै बधशालाले साना ठूला गरी दैनिक २०० वटा मासुजन्य पशुको बध गर्नसक्ने क्षमता रहेको छ ।
काठमाडौँ उपत्यकाको अनुगमन पछि यहाँ रहेका बधशालालाई कोल्ड स्टोर बनाइने पनि महानगरले बताएको छ ।

प्रकाशित मिति: मङ्लबार, चैत्र २३, २०७२