शनिबार, बैशाख १५, २०८१

मकैको बीउ अनुदानमै वितरण

काभ्रे, १४ फागुन । किसानले उत्पादन गरेको विभिन्न उन्नत् जातको मकैको बीउ काभ्रेपलाञ्चोकमा सरकारी कार्यालयले खरिद गरेर किसान समूहलाई नै अनुदानमा वितरण गरेको छ । जिल्लाको विभिन्न गाविसमा किसानले उत्पादन गरेको विभिन्न उन्नत् जातको मकै जिल्ला कृषि विकास कार्यालयले खरिद गरेर मध्य पहाडी वृहत्तर मकै उत्पादन कार्यक्रमअन्तर्गत किसानलाई ७५ प्रतिशत अनुदानमा वितरण गरिएको हो । बाली विकास अधिकृत थर्कबहादुर जिसीका अनुसार कृषि सेवा केन्द्रको सिफारिसमा जिल्लाको च्यासिङ्खर्क, मङ्गलटार, बालुवापाटी देउपुर, भूम्लुटार र काशिखण्ड नगरपालिकामा एउटा गाविसका लागि कम्तीमा तीन टन मकैको बीउ वितरण गरिने छ ।
मध्य पहाडी क्षेत्रमा मकैको प्रशस्त उत्पादन हुने तर कृषकसँग बीउ नहुने र कृषकको उत्पादन बढाउनुको साथै खाद्य सकटको समाधान गर्न बृहत्तर मकै उत्पादन कार्यक्रम ल्याइएको हो । अहिले करिब रु १६ लाख बराबरको २५ टन विभिन्न उन्नत् जातको मकैको बीउ वितरण भइरहेको छ ।
कृषि कार्यालयले बीउ उत्पादक किसान र किसान समूहसँग करारमा सम्झौता गरेर बीउ खरिद गरेको हो । जिल्लामा वृहत्तर मकै उत्पादन कार्यक्रम तीन वर्षदेखि सञ्चालनमा छ ।

प्रकाशित मिति: शुक्रबार, फाल्गुन १४, २०७२