मङ्लबार, बैशाख ११, २०८१

धनुषामा बर्सेनि उत्पादन घट्दै

जनकपुरधाम, १४ फागुन । धनुषामा रहेको खेतीयोग्य जमिनमध्ये ६० प्रतिशतमा अम्लीय तत्व बढी भएकाले बर्सेनि कृषि उत्पादन घट्दै गएको छ । जिल्लाको ७६ हजार ३१ हेक्टर क्षेत्रफलमध्ये उत्तरी क्षेत्रको जग्गामा ६० प्रतिशत तथा दक्षिणी क्षेत्रको जग्गामा ५५ प्रतिशत अम्लीय तत्व रहेकोले सो क्षेत्रमा बर्सेनि गहुँ, मकै तथा तरकारीबालीको उत्पादन घट्दै गएको जिल्ला कृषि विकास कार्यालयाले जनाएको छ । किसानले जथाभावी रासायनिक मल हाल्ने गरेकाले जग्गाको उर्वराशक्ति क्षिण भई अम्लीय तत्व बढ्न गई बर्सेनि उत्पादनमा हस आउने गरेको छ ।
माटोको अवस्थाबारे किसानलाई जानकारी नभएकाले यस्तो अवस्थाको सिर्जना भएको भन्दै जिल्ला कृषि विकास कार्यालयले चालु आर्थिक वर्षमा माटोको १५० नमुना सङ्कलन गरी माटो परीक्षण गर्ने लक्ष्य लिए तापनि हालसम्म ६० वटाको नमुना परीक्षण गरिएको छ ।
सरकारले अम्लीय माटो सुधार कार्यक्रम ल्याएपछि किसानको माटो जाँच गर्ने कार्यक्रम अघि सारिएको छ । खेतमा अम्लीय माटो बढी पाइएको खण्डमा त्यसको सुधारको लागि उक्त किसानको खेतमा कृषि चुना प्रयोग गरिने गरिएको छ । जिल्लाको १० ठाउँमा सो कार्यक्रम सञ्चालन गरिएको माटो व्यवस्थापन शाखाका विज्ञ दानालाल साहले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, फाल्गुन १४, २०७२