शुक्रबार, बैशाख २१, २०८१

कृषि ऋणमा सहजता अझै भएन

काठमाडौं, २४ माघ।सरकारले किसानहरुका लागि सहुलियत व्याजदरमा ऋण प्रवाह गर्ने भनेको भएपनि हालसम्म पनि किसानहरुले सहज रुपमा सरकारले तोकेको सहुलियत व्याजदरका ऋण पाउन सकेका छैनन् । नेपाल राष्ट्र वैंकले कृषि ऋणलाई पहिलो प्राथमिकतामा राखेको भएपनि त्यो केवल कागजी रुपमा सीमित भएको देखिएको छ । अहिले वैंकहरुमा तरलता उत्पन्न भई लगानी गर्ने ठाउं नपाएकै कारण निक्षेपकर्ताहरुलाई दिइने व्याजदरमा अत्यन्तै कमजोर व्याजदर प्रदान गरिरहेका छन् । निक्षेपकर्ताहरुले अहिले १ प्रतिशत व्याजदर पाईरहेका छन् । सोही अनुपातमा हेर्ने र वैकिङ नियम अनुरुप जाने हो भने पनि सरकारले तोकेको सहुलियत व्याज नियमानुसार कै व्याज बराबर हुने देखिन्छ । वित्तिय संस्थाहरुले व्याज लिंदा निक्षेपकर्ताहरुलाई उपलब्ध गराएको व्याज र ऋणीहरुलााई लिने व्याजमा बढीमा ५ प्रतिशतभन्दा बढीको अन्तर हुनु हुंदैन । तर नेपाल राष्ट्र वैकले सहि रुपमा अनुगमन गर्न नसक्दा आम निक्षेपकर्ताहरु व्याजको मारमा परेका देखिन्छन् ।
निक्षेककर्ताहरुलाई १ प्रतिशत व्याज उपलब्ध गराउने वैंकहरुले कृषि ऋणमा लगानी बढाउने हो भने यो तरलताको समेत अन्त्य हुने देखिन्छ । तर वैक तथा वित्तिय संस्थाहरु कृषिमा ऋण प्रवाह गर्नका लागि आनाकानी गरिरहेको देखिन्छ । लगानी गर्न ठाउं नपाएको भन्दै वैंकहरुमा रकम थुप्रिएकै कारण निक्षेपकर्ताहरुलाई उपलब्ध गराउंदै आइरहेको व्याजदरमा कम व्याज उपलब्ध गराउन थालिएको छ । तर अन्य क्षेत्र संकटमा परेर ऋण प्रवाह हुन नसकिरहेको अवस्थामा प्रमुख आकर्षणको केन्द्र बनिरहेको क्षेत्र कृषिमा वैकहरुले किन लगानी गर्न चाहिरेका छैनन् भन्ने कुरा अहिले चर्चा र बहसको विषय बनिरहेको छ ।
कृषि कर्जाका लागि बैंकहरु आकर्षण नहुनु तथा कृषि कर्जा सहज रुपमा नपाए राष्ट्र वैकमा सिंधै सम्पर्क गर्ने निर्देशन दिने गभर्नरले किन वैंक तथा वित्तिय संस्थाहरुले कृषि कर्जाका लगानी गर्न आनाकानी गरिरहेका छन् भन्ने कुरा तर्फ ध्यान दिनु आवश्यक थियो कि थिएन । आम नागरिक कृषि उत्पादनतर्फ आकर्षण बनिरहेका बेला वित्तिय संस्थाहरु कृषि क्षेत्रमा लगानी बढाउन नखोज्नुका निश्चित कारणहरु त होलान् ।ती कारणहरु केलाएर वैक तथा वित्तिय संस्थाहरुलाई कृषि कर्जामा जोड दिनका लागि नेपाल राष्ट्रले आफूलाई उभ्याउनु पर्ने हुन्छ । जवसम्म किसानहरुले सहज रुपमा कृषि कर्जा पाउन सक्दैनन तवसम्म नेपालको कृषि क्षेत्रले विकास गर्ने सम्भावना देखिंदैन । विना लगानी कृषि क्षेत्रको विकास हुन्छ भन्नु मुर्खता सिवाय केही हुन्न ।

प्रकाशित मिति: आइतवार, माघ २४, २०७२