शनिबार, बैशाख ८, २०८१

कफी झर्न थालेपछि किसान चिन्तामा

पर्वत, २७ माघ । पाक्ने समयमा कफी बोटबाटै झर्न थालेपछि किसान मारमा परेका छन् ।
कफीको पात झर्ने, बोट सुक्ने र लागेको फल नपाक्दै झर्ने गरेका कारण उत्पादन घट्ने भएपछि किसानलाई चिन्ता भएको हो । जिल्ला कफी व्यवसायी सङ्घका अध्यक्ष भवानीप्रसाद शर्माका अनुसार यस वर्ष जिल्लामा २० मेट्रिक टन कफी उत्पादन हुने अनुमान गरिएको भए पनि पछिल्लो समयमा देखिएको समस्याले उत्पादनमा कमी आउने भएको छ ।
अहिले जिल्लाका कतिपय स्थानमा कफीको फल टिप्ने बेला भएको छ भने केही ठाउँमा कफी पाक्दैछ । एक नगरपालिका र ४० गाविसका दुई हजार ७०० किसान कफी खेतीमा संलग्न छन् । कफी उत्पादनका लागि ७० वटा समूह बनाइएको छ । यस वर्ष उत्पादित कफीबाट रु एक करोड ४९ लाख ५० हजार आम्दानी हुने शर्माको अनुमान छ ।

प्रकाशित मिति: बुधबार, माघ २७, २०७२