बिहिबार, बैशाख २०, २०८१

मौरी र रेशम खेतीका लागि बजेट अभाव

काठमाडौं,५ मंसिर । कृषि विकास मन्त्रालयले योजना बनाउंदा जति सुकै राम्रा गफ गरेको भएपनि किसानहरु आकर्षित भईरहेका कृषि उपज उत्पादनका क्षेत्रमा भने बजेट कटौती गरेपछि जिल्ला जिल्लाका किसानहरु कृषि विकास कार्यालयहरुलाई दवाव दिन थालेका छन् । पछिल्लो समयमा युवा लक्षित कार्यक्रमा विशेष गरी मौरी पालन, रेशम खेती, च्याउ उत्पादनमा युवाहरुको आकर्षण बढ्दो रहेको छ । यी तीनै बस्तु र बाली उत्पादनमा जोड दिनु पर्ने बेलामा चालु आवमा कृषि विकास मन्त्रालयले बजेट काटिदिएपछि जिल्लाका काम गर्न अप्ठेरो परिरहेको विभिन्न जिल्लामा कार्यरत कृषिका कर्मचारी बताउंछन् । विशेष गरी व्यवसायिक कीट विकास निर्देशनालयले च्याउ खेती, मौरी पालन र रेशम खेतीको विकासका लागि बार्षिक कार्यक्रम गर्दै आईरहेको भएपनि गत बर्ष भन्दा यो बर्ष आधा बजेट घटेर आएपछि सो निर्देशनालयमा कार्यरत कर्मचारीहरुमा दवाव पर्न थालेको छ । गत बर्ष सो निर्देशनालय मार्फत ७५ जिल्ला र निर्देशनालयद्धारा थप ३ जिल्लालाई विशेष रुपमा च्याउ खेती, मौरी पालन र रेशम खेती प्रवद्र्धन गर्दै ३४ करोड रुपैयां बजेट विनियोजन भएको थियो । तर, चालु आर्थिक बर्षमा सो निर्देशनालयको विकास बजेटमा २४ करोड घटाएर ११ करोड मात्र निकासा भएपनि व्यवसायिक कीट विकास निर्देशनालयका कर्मचारीहरु हाजिर गरेर दिन कटाउने बाहेकको अरु काम गर्न नसक्ने अवस्थामा पुगेका छन् । कार्यालयका अनुसार ३४ करोड बजेट भएको कार्यालयको बजेट ११ करोडमा झरेपछि रेशम खेती तथा च्याउ खेतीको विकास कसरी गर्न सकिन्छ ? एक कर्मचारीले बताए । काम गर भन्ने बजेट नदिने कसरी हुन्छ विकास उनले बताए ।

प्रकाशित मिति: शनिबार, मंसिर ५, २०७२