शुक्रबार, बैशाख ७, २०८१

किसानको अगुवाईमा आलु चिस्यान केन्द्र

बागलुङ, ५ मंसिर । कृषिलाई व्यवसायिकरण गर्नु पर्दछ भन्ने नाराले धेरै किसानहरुलाई उत्साहित त गराएको छ । तर व्यवसायिक रुपमा कृषि गर्ने उत्साहका साथ सक्रिय रहेका किसानहरुलाई आवश्यक स्रोत साधन नहुंदा कृषि क्षेत्रमा लगानी गरिएको रकम डुब्ने सम्भावना पनि त्यत्तिकै रहेको छ । अहिले बाग्लुका किसानहरु आफूले उत्पादन गरेका कृषि उपजहरु नविग्रियोस् भन्ने सोच राखेर भण्डारण केन्द्र निर्माणमा जुटेका छन् किसानहरुकै अगुवाईमा जिल्लाको तारा गाविसमा आलु भण्डारण केन्द्र निर्माण गरिएको छ । आलु उत्पादनको पकेट क्षेत्र मानिने ताराखोलामा बीउ प्रवद्र्धन र उपभोग्य आलुको सङ्कलन गर्न तारा–२ सानोहिलेमा भण्डारण केन्द्रको निर्माण गरिएको हो ।
ताराखोलाको सानोहिले तरकारी कृषक समूहको अगुवाइमा रु चार लाखको लागतमा भण्डारण केन्द्र निर्माण गरिएको अध्यक्ष कुलराज कँडेलले बताए । कंडेलका अनुसार भवन निर्माणका लागि जिल्ला कृषि विकास कार्यालयको रु दुई लाख ७५ हजार अनुदान दिएको छ । यस्तै रु ५० हजार बराबरको श्रमदान र बाँकी रु ७५ हजार ऋण खोजेर भवन बनाइएको हो ।
समुद्री सतहदेखि २२ सय मिटरको उचाइमा रहेको भण्डार गृहमा आलुको बीउ सङ्कलन गर्ने प्रमुख लक्ष्य लिइएको समूहले जनाएको छ । “स्थानीय जातको आलुको बीउको प्रवद्र्धनका लागि चिस्यान केन्द्रको निर्माण गरेका हौँ”, अध्यक्ष कँडेलले बताए ।“सबैको सक्रियतामा अहिले भवनमात्र बनाउन सकेका छौं, भित्री संरचनाको काम बांकी छ ।”
तत्काल आलु भण्डारणका लागि ¥याक बनाउन जिल्ला कृषि विकास कार्यालले थप रु ५० हजार विनियोजन गरेको अध्यक्ष कँडेलले जानकारी दिए । भण्डार गृहमा आलु राख्दा कुहिने, चिसो लाग्नेजस्ता समस्या हटेर जाने कृषि सेवा केन्द्र हरिचौरका प्रमुख राजुप्रसाद शर्माले जानकारी दिएका हुन् । गत वर्ष डढुवा रोगले आलु उत्पादन घटेका कारण त्यसको रोकथामका लागि सुरुमै बीउलाई उपचार गरेर आलु रोप्ने तयारी गरिएको शर्माको भनाइ छ । यस अगाडि ताराखोलाकै जनएकता बहुउद्देश्यीय सहकारीले तारा– ७ मपेसमा आलु भण्डारण केन्द्र निर्माण गरिसकेको छ । यस्ता भण्डार केन्द्र सरकारी तवरबाट निर्माण गर्नु जरुरी देखिन्छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ५, २०७२