शनिबार, बैशाख २२, २०८१

दसैंलाई ५७ हजार खसीबोका राजधानी ल्याइँदै

काठमाडौं, २४ भाद्र। दशैंलाई लक्षित गरी काठमाडौं उपत्यकामा ५७ हजार खसीबोका भित्र्याइने भएको छ। सामान्य दिनभन्दा दशैंमा मासुको माग झण्डै तीन गुुणा बढ्ने भएकाले सोही अनुसार खसीबोका भित्र्याउने तयारी भएको हो।
 यसपटक तीनवटा निकायले ५७ हजार पाँच सय खसीबोका ल्याउने तयारी गरेका छन्। नेपाल माछा मासु व्यवसायी संघले १५ हजार, नेपाल खाद्य संस्थानले दुई हजार पाँच सय र चौपाया खरिद बिक्री सेवा संघले ४० हजार खसीबोका ल्याउन लागेको हो। यीमध्ये ९० प्रतिशत भारतबाट आयात गरिन्छ। BOlka_khasi
संस्थानले यस पटक मुस्ताङबाट पाँच सयको संख्यामा च्याङग्रा पनि ल्याउन लागेको छ।दशैंमा करिब अढाइ हजारको संख्यामा च्याङग्रा र राँगाभैसीको पनि बिक्री हुन्छ। दशैंमा मात्रै करिब साढे तीन अर्बभन्दा बढीको खसीबोका भारतबाट आयात हुने व्यवसायीको अनुमान छ।
नेपाल खाद्य संस्थानका प्रवक्ता मणिराज खनालका अनुसार दशैंलाई भनेर हेटौंडा, लाहान, सुर्खेत र नेपालगञ्जबाट दुई हजार पाँच सय खसीबोक ल्याइनेछ। यसैगरी मुस्ताङबाट पाँच सयको संख्यामा च्याङग्रा भित्र्याउन लागिएको हो।
 संस्थानले घटस्थापनादेखि खसीबोका र च्याङग्राको बिक्री गर्ने तयारी गरेको छ।गत वर्ष संस्थानले चार सय ७६ संख्यामा मात्र खसीबोका बिक्री गरेको थियो। खनालका अनुसारबजार मूल्यभन्दा केही कम मूल्यमा बिक्री गर्ने लक्ष्य राखिए पनि अहिले बिक्री मूल्य निर्धारण नभएको जानकारी दिए। उनका अनुसार खरिद मूल्य र ढुवानी खर्चको आधारमा मूल्य निर्धारण गरिन्छ।
नेपाल माछामासु व्यवसायी संघका अध्यक्ष अनिल खड्गीका अनुसार सामान्य दिनमा उपत्यकामा दैनिक आठ सयदेखि एक हजार गोटासम्म खसीबोका भित्रिने गरेकोमा दशैंको समयका लागि दैनिक तीन हजारको संख्यामा खपत हुन्छ। ‘फूलपातीदेखि टिकासम्म खसीबोका अत्यधिक परिमाणमा बिक्री हुन्छ,’ अध्यक्ष खड्गीले भने। उनका अनुसार सामान्य दिन र दशैंको अवधिमा पनि निजी क्षेत्रले भारतको कानपुर, लखनउ, हरियाणालगायतका स्थानबाट खसीबोका आयात गर्दै आएको छ।
 स्वदेशी बजार सल्यान, सुर्खेत, बर्दिया, कोहलपुर, सिन्धुली, मकवानपुर, काभ्रे, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, दाङ, लाहान, नेपालगन्जलगायतका स्थानबाट राजधानीमा खसीबोका भित्रिने गरेका छन्। चौपाया खरिदबिक्री सेवा संघका अध्यक्ष दीपक थापाले चौपाया खरिदबिक्री सेवा केन्द्र कलंकीमार्फत ४० हजारको संख्यामा खसीबोका बिक्री गर्ने लक्ष्य राखेको जानकारी दिए।
 संघले भारतबाट जमूनापारी र स्वदेशी बजारबाट पहाडी जात(लोकटी) को खसीबोका ल्याउन लागेको हो। थापाले नेपालको आन्तरिक बजारमा खसीबोका पर्याप्त नभएकाले भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको बताए। ‘भारतको भरमा खसीबोका व्यवसाय सञ्चालन गर्दा उपभोक्ताले महँगी सहनुपरेको छ।
 पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालयका अनुसार दशैंको समयमा सामान्य दिनभन्दा सात गुणा बढी खसी बोकाको मासु खपत हुन्छ। सप्तमीदेखि प्रतिव्यक्तिको उपभोग दर दैनिक २८ ग्रामबाट बढेर औसत दुई सय १२ ग्राम पुग्ने गर्छ।
 दशैंमा उपत्यकामा करिब ६० हजारसम्म खसीबोकाको बिक्री र १२ लाख किलो मासुको खपत हुन्छ। नेपालमा हाल प्रतिव्यक्ति प्रति वर्ष ११ किलो मासु खपत हुन्छ।  तर सरकारले नयाँ मापदण्ड बनाउँदा प्रतिव्यक्ति खपत १४ किलो प्रतिवर्ष पुर्‍याउने लक्ष्य राखेको छ।
विश्व स्वास्थ्य संगठनले मानव स्वास्थ्यका लागि प्रतिव्यक्ति ३७.९ किलो मासु प्रतिवर्ष खपत गर्नु पर्ने मापदण्ड निर्धारण गरेको छ। –

राजेश बर्मा अन्नपूर्णबाट
प्रकाशित मिति: बिहिबार, भदौ २४, २०७२