मङ्लबार, बैशाख ११, २०८१

बन्दको कारण उखु किसानले भुक्तानी पाएनन्

रौतहट, २४ भाद्र।– लामो समयदेखि जारी रहेको बन्दको कारण गत वर्ष नै चिनीमिललाई बिक्री गरेको उखुको भुक्तानी किसानहरुले अझै पाएका छैनन्।
 विभिन्न मधेवादी दलले करिब एक महिनादेखि निरन्तर बन्द गरिरहँदा बैंकहरुले समेत भुक्तानी दिन छाडेपछि किसानलाई समस्या भएको हौं। रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सलाई विभिन्न मधेशवादी दलहरुले आन्दोलन सुरु भएकै दिनदेखि बन्द गरेपछि किसानले भुक्तानी नपाएर घरायसी कामकाजसमेत प्रभावित हुन थालेको उखु कृषकको गुनासो छ ।
नयाँ संविधानमा भएको सीमांकनलगायत विगतमा विभिन्न आन्दोलनको समयमा भएका सम्झौताहरु कार्यान्वयन हुनुपर्ने माग गर्दै मधेशवादी दहरुले आह्वान गरेको अनिश्चित कालीन आमहड्तालका कारण उखु उद्योगहरु बन्द भएको कारण तराई मधेशका किसानले भुक्तानि नपाएको उद्योगीहरुले बताएका छन्।
लागातर रुपमा झण्डै एक महिनादेखि चल्दै आएको लामो बन्दको कारण तराइ मधेशमा सञ्चालित नौ वटा भन्दावढी चिनी मिलहरु बन्द भएका छन्। बन्दको कारण उद्योगीहरुले उखुको भुत्तानी समयमा नदिँदा कारण लाखौ उखु किसानलाई समस्या भएको उखु उत्पादक संघका अध्यक्ष कपिलमुनी मैनालीले बताएका छन्।
‘नगदे बालीको रुपमा उखुवालीलाई मान्यता दिँदै आए पनि उद्योग संञ्चालन हुने वेलामा मूल्य निर्धारणको समस्याले भुक्तानी नहुनु र अन्तमा मधेश आन्दोलनको कारण उद्योगलाई बिक्री गरेको उखुको महिनौ बितिसक्दा पनि भुक्तानी नपाएका किसानलाई घेरै समस्या भएको छ।’ महासंघका अध्यक्ष मैनालीले भने ‘राज्यले मधेसवादी दलहरुले उठाएको माग ततकाल सम्बोधन गरेर भुक्तानी अभावमा तड्पिरहेका किसानलाईसमेत राहत दिलाउन सरकारसँगै आग्रह गरेका छौं।’
बन्दको कारण उखुको भुक्तानी नपाएका किसानहरुलाई घर गुजारा चलाउनसमेत समस्या भएको संग्रामपुरका किसान कपल साह तेलीले बताउँछन। ‘उखुको भुक्तानी नपाउँदा लामो बन्दको कारण घरमा दैनिक उपभोग्य वस्तुको अभाव भएको छ’ उनले भने, ‘बन्दको कारण बजार र पसलमा समेत दैनिक उपभोग्य बस्तुको मुल्य अकाशिएको छ । बन्दको बेला पसलेले उद्यारोसमेत नदिँदा आफूजस्तै गाउँका सयौं किसानलाई समस्या भएको छ।’
आन्दोलनकारीले बन्द अवधीभर सडकमा गाडीसमेत चल्न नदिएपछि चिनी उद्योगको निकासी पैठारी दुबै बन्द भएको कारण दैनिक आधा करोड रुपैयाँ घाटा बेर्होर्नु परेको श्रीराम सुगर मिल्सका फाइनान्स म्यानेजर नरेन्द्र गुप्ताले बताए।
आन्दोलनको कारण उद्योग बन्द भएपनि झण्डै ३ सय कर्मचारी कामै नगरी हजिर गर्ने गरेको र श्रीराम सुगर मिल्सको डिस्टीलरी पलान्टले प्रति महिना उत्पादन गर्दै आएको चार हजार लिटर स्प्रीट बिक्री नभएले करोडौं रुपैयाँ घाटा व्यहोर्नु परेको म्यानेजर गुप्ताले बताए। कर्मचारीको तलब र किसानलाई उखुको भुक्तानी र बैँकको ब्याज तिर्न समेत उद्योगलाई यो महिनामा समस्या भएको उनले बताए।
झण्डै चार सातादेखि जारी रहेका आम हड्तालका कारण तराइ मधेशका जिल्लामा रहेका औद्योेगिक क्षेत्रमा मात्रै दैनिक करोडौको नोक्सानी भइरहेका छन्।
राज्य पक्ष आन्दोलनकारीको माग हलसम्म सम्बोधन नगरेको कारण तराई मधेसका जिल्लाहरुमा रहेका सम्पूर्ण चिनी उद्योगहरु कोमामा जाने अवस्था सिर्जना भएको चिनी उत्पादक महासंघका अध्यक्ष शशिकान्त अग्रवालले बताएका छन्।
देशमा वैशाखमा गएको ठुलो भुँइचालो र त्यसपछि आन्दोलनको कारण उद्योग बन्द हुँदा किसान र उद्योगी दुवै निकै प्रभावित भएको अग्रवालले बताए। विगत तीन वर्षदेखि चिनीउद्योग घाटामा गइरहेको स्मरण गर्दै यो वर्ष लामो बन्दको कारण राज्यले तराइ मधेशको समस्या तत्काल सम्बोधन नगरे बन्दको मारमा उद्योगहरु ताट पल्टिन बेर पनि नरहेको अग्रवालले बताए।
प्रकाशित मिति: बिहिबार, भदौ २४, २०७२