शनिबार, बैशाख १५, २०८१

रु एक करोडको अलैँची बिरुवा बिक्री

इलाम, १६ भाद्र। जिल्लाबाट एक वर्षमा रु एक करोड बराबरको अलैँचीका बिरुवा बिक्री भएको छ । जिल्लाको फिक्कलमा रहेको अलैँची विकास केन्द्र र जिल्ला कृषि विकास कार्यालय तथा अलैँची बिरुवा उत्पादक किसानले बिरुवा बिक्री गरेका हुन् ।
अलैँची विकास केन्द्रले उत्पादन गरेको बिरुवा काठमाडौँ, नुवाकोट, गोरखा, कास्की, रोल्पा, स्याङ्जा, पाँचथर, तेह्रथुम, ताप्लेजुङका साथै इलाममा समेत गरी पाँच लाख बढी उत्पादन तथा बिक्री वितरण गरिएको केन्द्रका प्रमुख पदमप्रसाद अधिकारीले जानकारी दिएका छन् ।
यहाँबाट सबैभन्दा बढी जिल्लाकै किसानले करिब डेढ लाख र कृषि विकास कार्यालयले ५० हजार भन्दा बढी बिरुवा खरिद गरेको छ । केन्द्रले यस वर्ष रु २७ लाख ७५ हजारको बिरुवा बिक्री गरेको अधिकारीले बताए ।
केन्द्रले किसान र कृषि कार्यालयलाई प्रतिगोटा रु पाँचका दरले बिरुवा बिक्री गरेको हो । यसका साथै किसानले निजीस्तरबाट समेत रु ७० लाखभन्दा बढीका बिरुवा बिक्री गरेका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ १६, २०७२