शुक्रबार, बैशाख २१, २०८१

पाल्पामा मत्स्यपालन बढ्दो

पाल्पा, ११ भाद्र । परम्परागत शैलीमा मत्स्यपालन गरेका किसानलाई व्यवसाय उन्मुख बनाउनका लागि जिल्ला कृषि विकास कार्यालयले प्राविधिक तथा आर्थिक सहयोग गर्न लागेपछि उनीहरू मत्स्यपालनतर्फ आकर्र्षित भएका हुन् । हावापानी, भौगोलिक भूवनोटका दृष्टिकोणबाट पहाडी जिल्ला भए पनि किसानले घरायसी प्रयोजनका लागि मात्र स–साना पोखरीमा जङ्गली जातका माछापालन गरेका छन् । किसानलाई व्यावसायिक सफलता गराउने उद्देश्यले आव २०७०÷७१ देखि जिल्ला कृषि विकास कार्यालयले मत्स्यपालन कार्यक्रममार्फत सहयोग गरेपछि उनीहरूको थप आकर्षण बढेको हो ।
जिल्ला कृषि विकास कार्यालयले किसानलाई प्राविधिक तथा अन्य सामग्रीमा सहयोग गर्न लागेपछि अर्गली, बन्दीपोखरा, रामपुर, हुँगी, कसेनी, दोभान, सोमादी क्षेत्रमा किसानले व्यावसायिक रुपमा मत्स्यपालन गर्न लागेको वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कोइरालाले कृषिलाई जानकारी दिएका छन् । अन्य पेसा तथा व्यवसायका तुलनामा मत्स्यपालनबाट यथेष्ट आम्दानी गर्न सफल भएको र उत्पादित वस्तु बिक्री गर्न बजारको समस्या नभएकाले आकर्षण बढेको दोभानका किसान सन्तोष शाक्यले बताउनुभयो । दोभान गाविसका १० जना किसानले व्यावसायिक रुपमा माछापालन गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७२