शुक्रबार, बैशाख १४, २०८१

तनेबोडी खेतीतर्फ महिला आकर्षित

भक्तपुर, २२ असार । तनेबोडीबाट मनग्गे आम्दामी हुने भएपछि चाँगुनारायण नगरपालिकास्थित दुवाकोटका महिलाहरू यसको व्यावसायिकखेती गर्न आकर्षित भएका छन् । एक महिनामै रु एक लाख कमाई हुने र खर्चका लागि अरूको भर पर्न नपर्ने भएपछि दुवाकोट बेसी गाउँका ३० घरपरिवार महिला तनेबोडीको व्यावसायिक खेती गर्न आकर्षित भएका हुन् । जिविस भक्तपुरअन्तर्गत स्थानीय विकास कोषले बेसी गाउँलाई लहरेबाली अन्तर्गत तने बोडी खेतीको नमुना गाउँ बनाउन तालिम, बीउ, ट्र्याक्टर, स्प्रे पम्प दिएर यसको खेती गर्न सिकाएपछि अहिले यहाँका महिला हातभरि पैसा गन्ने भएका छन् ।
कोषले गाउँमै सिद्धि गणेश बेसी सामुदायिक संस्था गठन गरेपछि यहाँका महिलाले बोडी खेतीबाट आम्दामी गरेको रकम संस्थामा बचत गर्ने, आवश्यक परे ऋण लिने र घर व्यबहार चलाउन सक्ने भएका छन् । सामुदायिक संस्थाका सदस्यहरूको आयस्तर वृद्धि गर्ने, उनीहरूको जीवनस्तर उकास्दै यसक्षेत्रलाई तने बोडीको पहिचान बनाउन यहाँका महिला सफल भएको सो संस्थाले जनाएको छ ।

प्रकाशित मिति: मङ्लबार, असार २२, २०७२