शुक्रबार, बैशाख १४, २०८१

कुखुरा पालनका लागि जैविक सुरक्षा

चितवन, २२ असार । कुखुरापालक किसानलाई विज्ञहरूले जैविक सुरक्षा प्रणाली अपनाउन आग्रह गरेका छन् ।
व्यवसाय सुरक्षित हुने, रोगबाट बचाउन सकिने र लागत पनि घट्ने भएकाले यसतर्फ ध्यान दिन विज्ञहरूले कुखुरापालक किसानलाई सुझाव दिएका हुन् । कुखुराकै विषयमा पिएचडी गरेका डा होमबहादुर बस्नेतले कुखुरा व्यवसायीमा जैविक सुरक्षाबारे जानकारी हुँदाहुँदै पनि लापरबाही गरिरहेको बताए । कुखुराको खोरमा पस्दा, नुहाइधुवाई गरेर सफा कपडामा जानुपर्छ, चुना छरेको र अगाडिको चुनापानीमा टेकेर जानुपर्छ, नयाँ मान्छेलाई सजिलै प्रवेश गराउनु हुँदैन, चरा तथा बाहिरी दुषित वातावरणबाट जोगाउनुपर्छ भन्ने कुरा सामान्य भए पनि व्यवसायी यस्ता विषयमा गम्भीर नबनेको उनको भनाइ छ । कुखुरा फार्म सम्बन्धीका विज्ञ डा बस्नेतले जैविक सुरक्षा अपनाउन सके कुखुरामा एन्टिबायोटिक समेत धेरै प्रयोग गर्नु नपर्ने दाबी गरे ।
विगतमा जैविक विषादीकै कारण लागत खर्च ५० प्रतिशत भन्दा बढीले घटेको उदाहरण दिँंदै, ठूलो नाफा खान खोज्दा किसान खाल्डोमा पर्नेगरेको उनले दाबी गरे । डा बस्नेतले ‘अल ईन, अल आउट’ भन्ने सिद्धान्तलाई व्यवसायीले आत्मसाथ गर्नुपर्ने उल्लेख पनि गरे । दुई÷तीनवटा खोरमा फरकफरक उमेर अनुसारका कुखुरा पाल्दा एउटा कुखुराबाट अर्काे कुखुरामा रोग सर्ने भएकाले सबै खोरमा एकैचोटी र एउटै उमेर समूहका कुखुरा पाल्नुपर्ने विज्ञहरूले बताएका छन् ।

प्रकाशित मिति: मङ्लबार, असार २२, २०७२