बिहिबार, बैशाख १३, २०८१

म्याग्दीमा बंगुरपालन फस्टाउँदै

म्याग्दी, २१ असार । केही बर्ष अगाडिसम्म बाहुन वा क्षेत्रीले बंगुर छुन पनि हुन्न भन्थे । तर, अहिले बंगुरपालन गर्नेहरमा बाहुन र क्षेत्री नै बढी देखिएका छन् । पछिल्लो समयमा रोजगारी सिर्जना, समुदायको आयस्तर वृद्धि र स्थानीय बजारमा मासुको आयात घटाउन म्याग्दी जिल्लाका दुई वटा सहकारी संस्थाले बङ्गुरपालन सुरु गरेका छन् ।
बेनी नगरपालिका–२ रत्नेचौर अर्जमको देउराली सहकारी संस्था र बेनी डम्मराको म्याग्दी बङ्गुरपालन सहकारी संस्थाले सामूहिक बङ्गुरपालन व्यवसाय सुरु गरेका हुन् । दुईवटै सहकारीमा ५० जनाभन्दा धेरै कृषक आबद्ध रहेका छन् ।
बङ्गुरपालनको माध्यमबाट रोजगारीको अवसरका साथै आयआर्जनमा समेत सघाउ पुगेको म्याग्दी बङ्गुरपालन सहकारीका सचिव कृष्ण विकले बताए । सहकारीमा आबद्ध सदस्यले आलोपालो गरेर बङ्गुरको स्याहारसुसार गर्ने र आम्दानी पनि समानरुपमा वितरण गर्ने व्यवस्था मिलाइएको छ ।
एउटा फार्ममा ५० वटा बङ्गुरका पाठापाठी पालिएका छन् । एउटा बङ्गुर फार्म स्थापना गर्न रु १२ लाखको हाराहारीमा लगानी भएको छ । जिल्ला पशुसेवा कार्यालयद्वारा सञ्चालित सहकारी खेती बङ्गुरपालन कार्यक्रमले सहकारीलाई रु आठ लाख ३० हजारका दरले अनुदान सहयोग गरेको जनाएको छ ।

प्रकाशित मिति: सोमवार, असार २१, २०७२