शनिबार, बैशाख १५, २०८१

भारतीय आँप, नेपालमा महोत्सव

काठमाडौं, १३ असार । नेपालको सवैभन्दा बढी आँप उत्पादन हुने सप्तरी र सिराहालाई विर्षाउँदै काठमाडौंमा आँप महोत्सव हुँदा काठमाडौंमा बसेर आँपको व्यापार गर्नेहरुलाई ठूलै फाइदा पुग्यो  । शुक्रबारबाट भएको आँप महोत्सवको चर्चा भन्दा पनि फलफूल विकास निर्देशनालयले छुट्याएको बजेट व्यापारीसँग मिलेर कसरी सिध्याउने भन्ने तर्फ नै सो महोत्सव केन्द्रित भएको भन्दै निर्देशनालयका केही कर्मचारी कार्यक्रमप्रति रुष्टता व्यक्त गरिरहेका थिए । उनीहरु सप्तरीमा भएको आँप महोत्सवलाई निर्देशनालयले वेवास्ता गर्दै व्यापारीहरुले भारतीय आँप किनेर महोत्सव गरिएकाले रुष्ट बनेको बताइएको छ ।
आँप उत्पादन तर्फ किसानहरुलाई प्रोत्साहन दिन आफ्नो तर्फबाट जस्तोसुकै सहयोग गर्न तत्पर रहेको भाषण गरिरहेका कृषि मन्त्री हरिप्रसाद पराजुली भने भारतबाट ल्याएको आँपलाई नेपालमै उत्पाद भएको भन्ठानेर खुशी व्यक्त गरिरहेका थिए । भारतमा उत्पादन भएको आँपलाई काठमाडौंमा महोत्सव गरिएको मन्त्री पराजुलीले पत्त पाएनन् । हुन त मन्त्रीलाई प्रमुख अतिथि बनाइयो आँप भारतबाट ल्याइयो । कार्यक्रम गर्ने आयोजक मन्त्रीलाई झुक्याउन पाएकोमा अत्यन्तै खुशी देखिएका थिए ।
निर्देशनालयले आँप उत्पादनको प्रमुख क्षेत्र सप्तरीमा भएको आँप महोत्सवलाई बजेट दिनु भन्दा काठमाडौंमै गरेर बजेट सकाउने प्रपञ्च रचेको चर्चा पनि चल्यो । लाखौं रुपैयाँ खर्चेर काठमाडौंमा गरिएको अाँप महोत्सवका बारेमा भने आँप उत्पादन गर्ने किसानहरु जानकारी पाएनन् । सप्तरीमा भने आँप महोत्सवले जुन रौनक थियो त्यो फलफूल विकास निर्देशनालयलाई जिल्ला कृषि कार्यालयले जानकारी गराएपछि मात्र थाहा पाएको बुझिएको छ ।

प्रकाशित मिति: आइतवार, असार १३, २०७२