बिहिबार, बैशाख २०, २०८१

पानी जम्ने र सुक्खा हुने खेतका लागि धानको बीउ

विराटनगर, ५ जेठ । मोरङ र झापा जिल्लाका सुक्खा तथा पानी जम्ने खेतमा धान उत्पादन गर्न सक्ने खालको उन्नत जातको बीउ फिलिपिन्सबाट प्राप्त हुने भएको छ ।
फिलिपिन्सस्थित अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्था (इन्टरनेसनल राइस रिसर्च इन्स्टच्यूट) को अनुदानको बीउ वितरण हुन गइरहेको जिल्ला कृषि विकास कार्यालय, मोरङले जनाएको छ ।
खेतीयोग्य जग्गामा बढी पानी जम्ने र बढी सुक्खा रहने खेतमा उक्त बीउबाट अत्यधिक मात्रामा धान उत्पादन हुने भएकाले सर्वसाधारणलाई सो बीउ वितरण गर्न लागिएको कार्यालय प्रमुख राजेन्द्र उप्रेतीले बताएका छन् ।
पानी जम्ने खेतमा धानबाली गलेर जाने र सिँचाइ नपुगेको अलि उचाइ भएको खेतमा पानीको अभाव हुँदा सुकेर जाने भएकाले उत्पादन ह्रास हुने गरिन्छ ।
यसका साथै, मोरङ जिल्लामा बासमतीलगायत मसिनो धानको ६०० हेक्टर जग्गामा खेती गर्ने किसानलाई ७५ प्रतिशत अनुदानमा बीउ वितरणसमेत गरिने कार्यालय प्रमुख उप्रेतीले बताए ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ ५, २०७२