सोमवार, बैशाख २४, २०८१

महिलाहरु सामुहिक च्याउ खेतीमा आकर्षित

उदयपुर, ४ जेष्ठ । उदयपुर जिल्लाको पश्चिमी नगर कटारी नगरपालिका १० को भुल्केका स्थानीय महिलाहरु सामुहिक च्याउ खेतीमा लागेका छन् । कटारी बजार क्षेत्रबाट करीव तीन किलोमिटर पुर्व–दक्षिणतर्फ पर्ने सा गाउँमा माझी,तामाङ, राई, मगर, सुनुवार लगायतका सामुदाय बसोबास गर्दै आएका छन् डेढ दर्जन घरधुरी बसोवास रहेको सो गाउँमा गठित सृजनसील आमा कृषक समूहमार्फत उनीहरुलाई च्याउ खेती गर्न प्रेरित गरेको हो ।

०६३ सालमा माझी पाँचजना, मगर पाँच, राई तीन र सुनुवार एक गरी १८ महिला आबद्ध भएर गठन गरेको सो समूह अहिले जिल्ला कृषि विकास कार्यालय उदयपुरमा दर्ता गरेर व्यवसायिक च्याउ खेती गर्ने अगुवा समूहको रुपमा स्थापित भएको छ । उक्त समूहका अध्यक्ष भक्तमाया माझीले सुरुमा तरिका नजानेका कारण बचतै बाँड्न गरेपनि हिजो आज व्यवसायिक च्याउखेतीबाट झनै् बढी आयआर्जन गर्ने गरेका छन् । समूहका अध्यक्ष माझीका अनुसार सबै सदस्य महिला मात्र भएको तथा लेखपढ गर्न नजानेका कारण जम्मा भएको बचत परिचालन नगरेर समूहले पैसै बाँडफाँड गर्ने गरेको थियो । तर, अहिले तीन महिनायता जम्म गरेको रकम परिचालन गरेर खेती थालेको उनले बताईन् ।
महासंघकी सामाजिक परिचालिका एलिजा मगरको भेटपछि उनीहरुको दिनचर्या र जीवन शैली नै फेरिएको छ । पहिले समूह गठन गरेको भए पनि बैठक बस्ने, स्रोतको खोजी गर्ने, तालिम लिने कुनै काम हुन्नथ्यो । तर, मगरको परामर्शपछि हप्तैपिछे बैठक बस्ने, आयआर्जनबारे छलफल चलाउने, सम्भावित स्रोतको खोजी गर्ने, ऋण परिचालन गरेर आयआर्जन गर्नेबारे दिनहुँ छलफल हुने गरेको छ । साप्ताहिक रुपमा जम्मा गरेको पैसाबाट तालिम लिने, उन्नत च्याउ खेतीबारे सिप सिकेर सामुहिक च्याउ खेती लगाएपछि महिनामा २० हजार हाराहारी आम्दानी हुन थालीसकेको छ ।
मगरकै सुझाव अनुसार जिल्ला कृषि विकास कार्यालय, कृषक महासंघ तथा केयर नेपालसँग साझेदारीमा समूहका सदस्यहरुले कृषि सम्बन्धी तालिम दिएपछि खेती गर्न पनि सहज भएको उनीहरुको भनाई रहेको छ । १८ घरधुरीबाट जम्मा हुने पैसा उनीहरुले सबै च्याउ खेतीमा लगाएपछि त्यसले उत्पादन दिन थालेको अध्यक्ष माझीले बताईन् । भुल्केको सिंगो बस्ती सिंचाईविहीन भएका र सुख्खा माटो भएकाले उर्वर नहुने हुँदा सबै च्याउ खेतीतर्फ आकर्षित हुन पुगेको उनीहरुको भनाई छ । राष्ट्रिय कृषक महासंघ उयदपुरका कार्यक्रम अधिकृत देवी थापामगरले सो समूहमा आबद्ध महिलाहरु मिहनेती, इमान्दार र लगनसिल भएकाले उनीहरुको व्यवसाय फस्टाउदो रहेको बताए ।
पहिलो महिनामै २३ हजारको च्याउ उत्पादन गरेर विक्री गरेको समूहले जनाएको छ । उनका अनुसार कृषि सेवा केन्द्रबाट वितरण हुने च्याउको विउ ४३ पोका अनुदान पाएपछि समूहले सामुहिक च्याउ खेती थालेको हो । त्यो सँगै च्याउ खेतीबारे समूहमा आबद्ध सदस्यलाई दुईदिने तालिम पनि महासंघले गराएको थापाले बताए । यता केयर नेपालका जिल्ला संयोजक रहमत हुसेनले कृषि व्यवसाय गर्ने महिलाका लागि सरकार र गैरसरकारी संघसंस्थाले अनुदान, प्राविधिक सहयोग, निशूल्क परामर्श र अन्य थुप्रै सहयोग गर्ने गरेको भए पनि उनीहरुलाई सो बारे जानकारी नभएकाले केयर नेपालले आवश्यक परामर्श दिएर खेती गर्न प्रोत्साहन गरेको बताए । -बिदुर कटुवाल बैरागी

प्रकाशित मिति: सोमवार, जेष्ठ ४, २०७२