शुक्रबार, बैशाख १४, २०८१

कृषि प्रदर्शनी मेला सुरु

जुम्ला, २४ वैशाख । कर्णाली क्षेत्रमा उत्पादन हुने मौलिक बालीको संरक्षणका लागि खाद्यपरिकार तथा बीउ विविधता प्रदर्शनी मेला बुधबारबाट सुरु भएको छ ।  मेलामा कर्णालीमा उत्पादित सिमी, कोदो, कागुनो, फापर, चिनो, मार्से, उवा, गहत, मास, भटमासलगायतका बालीबाट बनेका परिकार तथा बीउ प्रदर्शनी गरिएको छ । विगतमा उत्पादित यस क्षेत्रको स्थानीय बाली लोप हुन थालेको र आयातीत खाद्यान्नमा परनिर्भर हुनुपर्ने बाध्यताबाट मुक्त भई आयातीत खाद्यान्नलाई प्रतिस्थापन गर्न र त्यसको उत्पादन तथा प्रचारमा व्यापकता ल्याउन मेला सञ्चालन गरिएको आयोजक क्षेत्रीय होटल सङ्घका अध्यक्ष दिलबहादुर महतले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी दीपेन्द्रराज पौडेलले उक्त मेलाको उद्घाटन गर्दै कार्बोहाइड्रेड, भिटामिन तथा पोषणयुक्त बाली उत्पादनमा वृद्धि ल्याउन जोड दिए । युवालाई स्वदेशमै रोजगारी गराउने प्रविधिको विकास गर्न मेलाले ठूलो सहयोग पु¥याउने उनले बताए । मेलामा सिमीबाट पकाइएको गेडा, मकै, फापर तथा कोदाको केक, नमकिन, कागुनो, खिर, मार्सेको लड्डु, आलुको तरकारी, उवाको ढिँडोलगायतका परिकार र विभिन्न बालीको बीउ प्रदर्शन गरिएको छ । सो मेलामा २६ गाविसका कृषक तथा आमा समूहले ४० स्टलमा खाद्य परिकार तथा बीउ राखेका छन् । देउडा समूह, नाटक, झोडा, स्थानीय झाँकी र कर्णालीमा परापूर्वकालदेखि गाइने मङ्गलगान पनि देखाइएको थियो । मेलामा करिब दुई हजार बढीले अवलोकन गरेको आयोजकले जनाएको छ । मेलाबाट करिब रु ६ लाखबराबरको कारोबार भएको छ ।

प्रकाशित मिति: बिहिबार, बैशाख २४, २०७२