बिहिबार, चैत्र १५, २०८०

भूकम्पका कारण रु दश करोडबराबरको पशु धनको क्षति

बनेपा, २४ वैशाख । काभ्रेपलाञ्चोक जिल्लाको ४६ गाविस र पाँच नगरपालिकामा भूकम्पका कारण झन्डै रु १० करोडबराबरको पशु धनको क्षति भएको छ । यसमध्ये ठूला पशुबाट रु छ करोड, साना पशुको रु दुई करोड र कुखुरा) मा रु दुई करोड नोक्सानी भएको जिल्ला पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकले प्रारम्भिक अनुमान गरेको छ । साना तथा ठूला पशु र पक्षी गरी कुल १८ हजार २११ पशुपक्षी मरेका छन् । बिमा गरेका कृषकले त राहत पाउँछन् तर जसले बिमा गरेको छैन उनिहरुलाई पनि केही राहतको व्यवस्था हुन सक्छ जिल्ला पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा शरणकुमार पाण्डेले भने । उनले अहिले पशु, चौपायाको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको बताए । जिल्ला पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकका अनुसार गाईभैँसी ठूला पशु एक हजार १९०, साना पशु भेडा, बाख्रा, बङ्गुर दुई हजार ७४६ र पक्षी कुखुरा १४ हजार २७५ भूकम्पमा परी मरेका छन् । ‘‘मरेका पशु तथा पक्षीको सङ्ख्या दिनहुँजसो बढ्दै गएको छ’’ पशु चिकित्सक मणि सापकोटाले भने ।

भूकम्पमा परी एक हजार ३९८ ठूला तथा साना पशु, चौपाया र ६५० पक्षीलाई चोट लागेकाले ती पशु तथा पक्षीको गाउँगाउँ र नगरपालिकामा निःशुल्क उपचार भइरहेको जिल्ला पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकका पशु चिकित्सक सापकोटाले जानकारी दिए । अहिलेसम्म ३६५ पशु, चौपायाको सिनो व्यवस्थापन भएको छ । जिल्लामा ६८ वटा गाविसमध्ये अझै पनि धेरै गाविसबाट विस्तृत विवरण आएको छैन । काभ्रेपलाञ्चोकमा जिल्ला विकास समितिले अहिलेसम्म भूकम्पका कारण पाँच हजार ४८१ पशु, चौपाया र पक्षी मरेको अनुमान गरेको छ ।

प्रकाशित मिति: बिहिबार, बैशाख २४, २०७२