बुधबार, बैशाख २६, २०८१

थाइल्यान्डमा पूर्व सरकारका दुई मन्त्रीमाथि चामल काण्डमा महाभियोग

बैङकक, २५ वैशाख । थाइल्यान्डको सेनाले नियुक्त गरेको संसदले शुक्रबार पूर्व वाणिज्यमन्त्री तथा उनका सहयोगीलाई चामल सम्झौतामा भ्रष्टाचार गरेको आरोपमा महाभियोग लगाउने निर्णय गरेको छ । यस मुलुकको भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाले यो सम्झौता नै नभएको दाबी गरेको छ । राष्ट्रिय संसदीय सभाका सदस्यहरूले पूर्व वाणिज्यमन्त्री बुनसोङ तेरियापिरोम तथा उनका सहायक पुम सारापोललाई महाभियोग लगाउने निर्णय गरी मतदान गरेको हो । यस मुलुकको भ्रष्टाचार नियन्त्रण आयोगले सरकारीस्तरमा भएको भनिएको यो सम्झौता वास्तवमा नभएको दाबी गरेको छ ।

सांसदहरूले विदेश व्यापार विभागका पूर्व निर्देशक मानस सोथोङले उक्त चामल तत्कालिन प्रधानमन्त्री यिङलक सिनावात्राको सरकारसँग नजिकको सम्बन्ध रहेको संस्थालाई पुनः बिक्री गरेको भनी यस काण्डमा संलग्न भएको भनी निजमाथि पनि महाभियोग लगाएका छन् । यी तीनै व्यक्तिलाई पाँच वर्षसम्म राजनीतिमा संलग्न हुन र सरकारी पद प्राप्त गर्न प्रतिबन्ध लागेको छ । एनएलएका सदस्यहरूलाई सैनिक सरकारले नियुक्त गरेको हो । सेनाले गत मे महिनामा नागरिक सरकारलाई हटाएको थियो । यस संसदले पूर्व प्रधानमन्त्री यिङलकले पनि चामलमा अनुदान दिइ अरबौँ अमेरिकी डलर बराबर क्षति पुरयाएको भनी महाभियोग लगाएको थियो । पूर्व प्रधानमन्त्री यिङलक तथा उनका समर्थकहरूले यस महाभियोगबाट उनी तथा उनको दललाई राजनीतिक शक्तिबाट पाखा लगाउने प्रयास भएको आरोप लगाएका छन् ।

प्रकाशित मिति: शुक्रबार, बैशाख २५, २०७२