शनिबार, बैशाख २२, २०८१

दुई लाख ८० हजार अनुदानमा व्यावसायिक च्याउखेती

पाल्पा, ११ वैशाख । युवा लक्षित कार्यक्रमअन्तर्गत व्यावसायिक च्याउखेतीबाट युवाले मनग्य आम्दानी गर्न सफल भएका छन् । कृषि विकास कार्यालयको रु दुई लाख ८० हजार अनुदान तथा युवाको रु पाँच लाख लागनीमा व्यावसायिक च्याउखेतीबाट आम्दानी गर्न सफल भएका हुन् । नायरनम्तलेस गाविसको ६ र ७ वडाको सात घरपरिवारका २८ जना युवाले च्याउखेतीबाट गाउँमा मनग्य आम्दानी गर्न थालेका हुन् । कृषि विकास कार्यालयले आर्थिक तथा प्राविधिक सहयोग गरेपछि यहाँका युवा व्यावसायिक च्याउखेतीतर्फ आकर्षित भएका हुन् । च्याउखेती गरी मासिक रु १५ देखि २५ हजारसम्म आम्दानी गर्न सफल भएको उनीहरुको भनाइ छ ।

गाउँबाट नै च्याउ प्रतिकिलो रु २०० मा खरिद बिक्री हुँदै आएको स्थानीय ताराबहादुर कुँवर बताउछन। “च्याउखेतीबाट आम्दानी हुन थालेपछि विदेश पलायन हुनुपरेको छैन” कुँवरले भने। च्याउको आम्दानीबाट वार्षिक रु दुई लाखसम्म आम्दानी गरेको उनले बताए । कम लगानी र कम परिश्रममा च्याउखेतीबाट आम्दानी गर्न सकिने भएपछि च्याउखेतीप्रति युवाको आकर्षण बढेको छ । कृषि कार्यालय र गैरसरकारी कार्यालयहरुको अगुवाइमा च्याउ उत्पादनसम्बन्धी तालिम र बीउ पाएपछि उनीहरु च्याउखेतीतर्फ आकर्षित भएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, बैशाख ११, २०७२