शनिबार, बैशाख ८, २०८१

विदेशबाट फर्केर गाईपालन व्यवसाय

पाल्पा, ९ वैशाख । वैदेशिक रोजगारबाट फर्केका युवाले गाईपालन व्यवसायबाट गाउँघरमा नै मनग्य आम्दानी गरेका छन् । गाईपालन व्यवसाय सञ्चालन गरेपछि उनीहरू स्वरोजगार समेत बनेका छन् । वैदेशिक रोजगारबाट फर्केका पाल्पा छहरा गाविस–६ धुवाघाटका गणेश न्यौपानेले गाईपालन व्यवसायबाट मासिक रु बीस हजार आम्दानी गर्न सफल हुनु भएको छ । झन्डै चार वर्षसम्म रोजगारीका लागि साउदी अरबमा रहेका न्यौपानेले स्वदेश फर्केपछि गाईपालन व्यवसाय थालेका हुन ।
पाँच जनाको परिवारको लालनपालन र एक सन्तानको शिक्षादिक्षा र औषधि उपचार खर्च जोहो गरी उनले केही पैसा सहकारीमा बचत समेत गर्न थालेका छन् । व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि विगतका दुःखका दिन बिर्सिएको उनले बताए । व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि उनले १२ वटा गाई पालेका छन् । छहरास्थित परोपकार स्वावलम्बन बचत तथा ऋण सहकारीबाट रु दुई लाख कर्जा लिएर व्यवसाय सुरु गरेको उनले बताए ।
“चार जनाको परिवारको खर्च धानेको छु, बिरामी हुँदा ऋण खोज्नु परेको छैन” उनले भने । मासिक रु १५ देखि रु २० हजारसम्म आम्दानी हुने गरेको राउतको भनाई छ । वैदेशिक रोजगारबाट फर्केका यूवाहरूले कृषि तथा पशुपालन व्यवसायमा लागेर विदेशमा भन्दा बढी आम्दानी गर्न थालेपछि गाउँका अन्य युवाहरूसमेत न्यौपाने र राउतको सिको गर्न थालेका छन् ।

प्रकाशित मिति: बुधबार, बैशाख ९, २०७२