शनिबार, बैशाख १५, २०८१

किसानले पाएनन् उखुको भुक्तानी

रौतहट,३ बैशाख । उखुको मूल्य सरकारले तोकिसक्दा पनि उखु किसानहरुले भने अझै भुक्तानी पाउन सकेका छैनन् । सरकारले उखुको मूल्य तोके पश्चात किसानहरुले आफ्नो सम्पूर्ण उत्पादन चिनी मिललाई बेचिसकेको भएपनि उद्योगले भने किसानहरुलाई भुक्तानी दिन आलटाल गरिरहेका छन् । रौटहटमा रहेको श्रीराम सुगर मिल्सले किसानहरुलाई अझैसम्म उखुको भुक्तानी नदिएपछि किसानहरु मर्कामा परेका हुन् ।
नगदेवालीका रुपमा रहेको उखुको भुक्तानी बेलैमा नपाएपछि किसानहरुमा निराशा छाएको बताएका छन् । उद्योगले भुक्तानी तालिका निकाले पनि सो अनुरुप भुक्तानी दिएको छैन । तालिका अनुरुपमा भुक्तानी लिन जाँदा पनि किसानहरुले रकम नपाएपछि उनीहरुमा निराशा छाएको किसानहरु बताउँछन् । उखु किसान निराश हुँदा उद्योगले पाउने उखु पनि क्रमश ः घट्दै गएको देखिएको छ । १४ हजार किसानले श्रीराम चिनी मिललाई मात्रै २१ लाख बराबरको उखु बेचेका थिए । उखुको मूल्य नपाएपछि किसानहरुले उखु खेती नै कम गर्न थालेका छन् ।
उखु उत्पादनक संघले समयमा नै उखु किसानहरुलाई भुक्तानी दिन श्रीराम सुगर मिल्सलाई दवाव दिएको बताए पनि उद्योगले विभिन्न बहाना बनाएर आलटाल गरिरहेको बुझिएको छ ।

प्रकाशित मिति: बिहिबार, बैशाख ३, २०७२