शनिबार, बैशाख १५, २०८१

चौध प्रतिशतले गहुँ उत्पादनमा वृद्धि हुने

धनुषा, २ वैशाख । उन्नत बीउ, मल, सिँचाइ सुविधा राम्रो भएकाले धनुषामा यस वर्ष १४ प्रतिशतले गहुँ उत्पादन वृद्धि हुने भएको छ । कृषि विकास कार्यालयका अनुसार किसानले यस वर्ष ३८ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरेकामा रु दुई अर्ब ५२ करोड ९८ लाख ६८ हजार बराबरको एक लाख १४ हजार ९९८ मेट्रिक टन गहुँ उत्पादन हुने भएको छ ।
अघिल्लो वर्ष किसानले ४० हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरेकामा रोपाइँको समस्याका कारण एक लाख आठ हजार मेट्रिक टन मात्र गहुँ उत्पादन भएको थियो । प्रतिहेक्टर ३.०२ प्रतिशत उत्पादन रहेको गहुँ खेतीतर्फ ६० प्रतिशत जनसङ्ख्याले गहुँ खेती गर्दै आएको कृषि विकास कार्यालय धनुषाले जनाएको छ । सरकारले गहुँ खेती गर्ने किसानलाई ३५ प्रतिशत अनुदानको बीउ उपलब्ध गराएपछि यस वर्ष कृषि कार्यालयमार्फत उनिहरुले २८० मेट्रिक टन बीउ पाएका हुन् । यदुकोहा, विसरभोरा, खरिहानी, बालाबाखर, कुम्भकर्ण, चोरकोइलपुर, गिद्दा, ननुपट्टिमा गहुँ उत्पादन अत्यधिक हुने तथा यहाँका किसानले एलएम २९७, मृकुटी र गौतमजस्ता उन्नत जातका गहुँ खेती गर्दै आइरहेका छन् ।

प्रकाशित मिति: बुधबार, बैशाख २, २०७२