शनिबार, बैशाख १५, २०८१

चितवनमा भारतीय केरा भित्रियो

bananaचितवन,३० चैत । चितवनमा भारतीय केरा भित्रिएपछि व्यापार प्रभावित भएको छ । स्थानीय उत्पादनको सट्टा बजारमा भारतीय केरा भित्रिएपछि यहाँका व्यवसायी चिन्तित भएका छन् । केरा व्यवसायी समितिका पूर्व अध्यक्ष यज्ञ सुवेदीका अनुसार एक साताअघि व्यवसायीसित भारतीय केरा नकिन्ने सहमति भएको थियो ।
“यहाँका केरा व्यवसायीले तरकारी मण्डीमा खुलेआम भारतीय केरा खरिदबिक्री गरिरहेका छन्” पूर्व अध्यक्ष सुवेदीले बताए । व्यवसायीले सहमति उल्लङ्घन गरेपछि समस्या देखिएको उनको भनाइ छ । व्यवसायीका अनुसार अहिले चितवनमा छ महिना बढीलाई पुग्ने केरा उत्पादन भएको छ । केरा बगानमा बिक्री गर्न राखिएका सयौँ केराका घरी छन् । तर दैनिक भारतीय केरा आयात गरिँदै आएको छ ।
भारतीय केरा भित्रिएका कारण स्थानीय उत्पादनले उचित मूल्य नपाउने र बिक्र पनि कम हुने र बिग्रने खतरा बढेको छ । “दैनिक ४०० घरी बढी केरा भित्रिरहेको छ” फलफूल तथा तरकारी थोक व्यवसायी सङ्घका अध्यक्ष थिरप्रसाद धितालले बताए ।
चितवनमा गत वर्षमा करिब रु ४० करोडको केरा बिक्री भएको तथ्याङ्क छ । यहाँ एक हजार ६०० बिघाहा बढी क्षेत्रफलमा केराखेती गरिँदै आएको छ भने ५०० बढी केरा व्यवसायी रहेका छन् ।

प्रकाशित मिति: सोमवार, चैत्र ३०, २०७१