सोमवार, बैशाख २४, २०८१

नयाँ वर्षसँगै अनुदानको कृषि कर्जा

चरीकोट, २९ चैत । दोलखाका कृषकले नयाँ वर्ष २०७२ सुरुसँगै अनुदानको कृषि कर्जा पाउने भएका छन् । युवालाई विदेश पलायन हुनबाट रोक्न तथा स्वदेशमा नै कृषि पेशामा लगाउन अर्थमन्त्रालयले गएको वर्ष घोषणा गरेको सुलभ ब्याजदरको कृषिकर्जा नयाँ वर्ष सुरुसँगै प्रदान गरिन लागेको राष्ट्रिय वाणिज्य बैंक दोलखाले जनाएको छ ।
प्राविधिक कारणले कर्जा कार्यविधि ढिलो आएको जनाउँदै वैशाखको पहिलो साताबाट कृषि कर्जा प्रदान गर्न लागेको बैंकका प्रमुख प्रह्लाद केसीले जानकारी दिएका छन् । पाँच प्रतिशत ब्याजदरमा दिन लागिएको कृषि कर्जाबाट धेरै किसान लाभान्वित हुने केसीको भनाइ छ ।
सहुलियत ब्याजदरका लागि यो आर्थिक वर्षमा रु एक करोड ५० लाखमध्येको २५ प्रतिशत रकम रु ३७ लाख ५० हजार लगानी गर्ने बैंकले जनाएको छ । यसमा चार प्रतिशत रकम अर्थमन्त्रालयले अनुदान स्वरुप दिने जनाएको छ । त्यसका लागि कृषकले लिएको सम्पूर्ण ऋण चुक्ता गरिसक्नुपर्ने बताइएको छ ।
कृषिका लागि आएको बजेट अन्य ठाउँमा दुरुपयोग नहोस् भन्नका लागि वास्तविक कृषक पहिचान गरी किस्ताबन्दीका रुपमा लगानी गर्ने कार्यालयको भनाइ छ । गाउँमै बसी व्यावसायिक कृषि पेसा गर्न लागेकालाई प्रोत्साहनस्वरुप सरकारले दिन लागेको सहुलियत ब्याजदरको ऋणबाट धेरै युवा लाभान्वित हुने बैंकको दाबी छ ।

प्रकाशित मिति: आइतवार, चैत्र २९, २०७१