सोमवार, बैशाख २४, २०८१

चिराइतोखेतीबाट आम्दानी गर्दै किसान

म्याग्दी, २९ चैत । परम्परागत अन्नबालीको विकल्पमा बहुउपयोगी जडीबुटी भनेर चिनिने चिराइतोखेती गर्न थालेपछि म्याग्दीका किसान यथेष्ट आम्दानी गर्न सफल भएका छन् । यहाँका सात गाविसका बासिन्दा घरमै बसीबसी मनग्गे आम्दानी गर्न थालेका हुन् । उच्च पहाडी क्षेत्रको खेतीयोग्य जमिनमा खाद्यान्न बालीको सट्टा चिराइतोखेती गरेर हिस्तान, रुम, गुर्जा, मुदी, मुना, बेग र ओखरबोट गाविसका ८०० भन्दा बढी परिवारले वार्षिक रु दुई लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् ।
अन्नबाली लगाउँदा सोही जमिनमा मुस्किलले रु पाँच हजार बराबरको खाद्यान्न उत्पादन हुने गरेको किसानले बताएका छन् । खाद्यान्न बाली लगाउँदा थोरै मात्र उत्पादन हुने जमिनमा अन्नबालीको विकल्पमा सामुदायिक वन उपभोक्ता समूहमार्फत नगद आम्दानी हुने र कम श्रममा गर्न सकिने जडीबुटी खेती गर्न थालिएको छ । सोही जग्गामा सयौँ गुणा बढी आम्दानी लिन सकिएकोे रिमका कृषक मनबहादुर पुर्जाले बताए ।
खाद्यान्न उत्पादन कम हुन थालेपछि त्यसको विकल्पमा जडीबुटीखेतीमार्फत गाउँमै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले चिराइतोखेती गर्न थालिएको हो ।

प्रकाशित मिति: आइतवार, चैत्र २९, २०७१