बिहिबार, बैशाख २०, २०८१

१२ करोड तरकारी विक्री

गोरखाबजार, १६ चैत । व्यावसायिक तरकारीखेती गर्दै आएका गोरखाको घ्याल्चोकका किसानले यस वर्ष रु १२ करोड आम्दानी लिएका छन् । गाविसको नौ वडाका किसानले तरकारी बेचेरै वार्षिक यतिधेरै आम्दानी लिएका हुन् । रु १० करोडको तरकारी राजधानीमा मात्र खपत हुँदै आएको छ । गाविसको ५, ८ र ९ वडाका किसानले व्यावसायिक तरकारीखेतीलाई प्रमुख पेसाको रूपमा अङ्गाल्दै आएका छन् । “काठमाडौँका व्यापारीले मात्रै वार्षिक ३२ लाख किलो तरकारी लैजान्छन्” सामूहिक सहकारी तथा तरकारी सङ्कलन केन्द्रका व्यवस्थापक रमेश नेपालले भने, “व्यवसायी तरकारी लिन ट्रक लिएर गाउँमै आउने गरेका छन् ।”
घ्याल्चोकमा करिब ७०० जना व्यावसायिक किसान छन् । अर्काको जग्गा भाडामा लिएर समेत किसानले तरकारी फलाउँदै आएका छन् । बाह्रै महिना तरकारी उत्पादन हुँदै आएको घ्याल्चोकमा पछिल्लो समय विषादीरहित तरकारी उत्पादन हुन थालेको छ ।
“विषादीको प्रयोग न्यूनमात्रामा छ” उनले भने, “प्राङ्गारिक तरकारी उत्पादनमा किसान लागेका छन् ।” गाउँमा उत्पादन भएको तरकारी बजारसम्म पु¥याउन गाउँलेले कृषि सहकारी गठन गरेका छन् । जनकल्याण कृषि सहकारी, सामूहिक कृषि सहकारीलगायतका सहकारीको व्यवस्थापनमा किसानले तरकारी बजारमा बिक्रीका लागि पठाउँछन् ।
घ्याल्चोकमा उत्पादन भएको तरकारी काठमाडौँका साथै चितवन, पोखरा, तनहुँ र गोरखामा खपत हुँदै आएको छ । काउली, बन्दा, गाँजर, केराउ, मूला, भन्टा, बोडी, फर्सी, स्कुस, लसुन, प्याज, घिरौँला, चिचिन्डा, करेला, क्राँक्रा जातका तरकारी तथा फलफूल यहाँका किसानले उत्पादन गर्दै आएका छन् ।

प्रकाशित मिति: सोमवार, चैत्र १६, २०७१