शुक्रबार, जेष्ठ ४, २०८१

कृषि व्यवसायबाट सफल बन्दै

जिरी, १६ चैत । पाँच वर्षसम्म मलेसियामा मेहनत गर्दा चाहे जस्तो आम्दानी गर्न नसकेका फुर्वा शेर्पा गाउँ फर्केर पशुपालन र कृषि व्यवसायमा रमाएका छन् ।

गरिबीका कारण पढ्न नसकेपछि सानै उमेरमा विदेशिएका जिरी नगरपालिका–२ माली गाउँका शेर्पाले पाँच वर्षसम्म मलेसियामा मजदुरी गर्नुभयो । उहाँ छिमेकीसँग ऋण सापटी गरी मलेसिया पुग्नुभएको हो । मलेसियाबाट फर्केपछि उनले गाउँमै रहेको सहकारी संस्थाबाट ऋण लिएर तरकारीखेती र बङ्गुरपालन थाले ।
मेहनती फुर्वाले व्यवसाय सुरु गरेकै वर्ष रु तीन लाख बङ्गुर र तरकारीबाट कमाएपछि उनको आत्मबल बढ्दै गएको छ । गाउँकै जनसहयोगी बचत तथा ऋण सहकारी संस्थाले फुर्वालाई कृषि उद्मीमा छनोट गरी रु पाँच लाखसम्मको सहुलियत कृषि कर्जा दिएको छ ।
गाउँमै मेहनत गरेर पनि विदेशको भन्दा बढी आम्दानी गर्न सकिने सल्लाह दिन्छन् फुर्वा । गाउँँको कच्ची सडक छेउमा फुर्वाको सानो पसल पनि छ । यो पसलले गाउँलेको आवश्कता मात्र धानेको छैन ङिमपुटीलाई स्वरोजगार पनि बनाएको छ ।
कृषि र पशुपालनमा समेत श्रीमान्लाई सघाउँदै आएकी ङिमपुटीले पसलबाट भन्दा कृषिबाटै राम्रो आम्दानी लिन सकेको बताइन् । व्यवसाय थालेको तीन वर्षमै शेर्पा परिवार गाउँमै उदाहरणीय बनेको छ ।

प्रकाशित मिति: सोमवार, चैत्र १६, २०७१