शुक्रबार, बैशाख २१, २०८१

कालीकोटमा अलैँचीखेती

कालीकोट, २६ फागुन । जिल्लाको सिप्खाना गाविसमा अलैँचीखेती फस्टाएको छ । यहाँको अलैँचीखेती नमुना बनेको छ । सिप्खाना गाविस–६ निवासी परिलाल न्यौपानेले अलैँचीखेती गरेको चार वर्ष भएको बताए । दुर्गम गाउँमा अलैँचीखेतीबाट राम्रो आम्दानी हुन थालेको उनको भनाई रहेको छ । न्यौपानेले विसं २०५९ मा जिल्ला कृषि कार्यालयबाट वितरण गरिएको अलैँचीका बिरुवा ल्याएर खेती सुरु गरेका हुन् । अलैँचीबाट वार्षिक रु ७० हजार कमाइ गर्ने गरेको उनले बताए । “गाउँमा प्रतिकिलो रु एक हजारमा बिक्री हुने गरेको छ” उनको भनाई छ । न्यौपानेका अनुसार अहिले सुर्खेत, नेपालगन्ज, चितवनमा अलैँची बिक्री हुने गरेको छ ।

“जिल्ला बाहिर अलैँची प्रतिकिलो रु दुई हजारसम्ममा बिक्री हुन्छ” न्यौपानेले भने । बिक्री गर्न कठिनाइ हुने भएका कारण जिल्ला बाहिर लगेर बेच्ने गरेको उनले बताए । न्यौपानेले राम्रो आम्दानी गर्न थालेपछि आसपासका कृषक पनि अलैँचीखेती गर्न हौसिएका छन् । जिल्लास्तरीय कृषि मेला प्रदर्शनीमा न्यौपाने अलैँचीखेतीमा प्रथम भएका थिए । बाहिरबाट आउने अलैँचीलाई रोकी जिल्लाभित्र उत्पादन भएकोलाई प्राथमिकता दिनुपर्ने जिल्ला कृषि विकास कार्यालय कालीकोटका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव शर्मा पोख्रेलले बताए ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन २६, २०७१