सोमवार, बैशाख २४, २०८१

सुन्तला खेतिबाट किसानहरु पलायनको संकेत

orangeकास्की, २१ फागुन । सुन्तला उत्पादन राम्रो हुँने जिल्ला मध्येमा पर्ने कास्कीमा पछिल्ला बर्षहरुमा भने उत्पादन घट्दै जान थालेको छ । कास्कीमा गत बर्ष भन्दा यस बर्ष करिव १० प्रतिशतले उत्पादन घटेको हो । जिल्ला कृषि विकास कार्यालय कास्कीका वागवानी विकास अधिकृत मनहर कडरीयाले भने,‘कास्कीमा सुन्तला ह्रास हुँदै गएको छ । पकेट क्षेत्र भनेकै गाविस मुख्य आक्रान्त बन्यो । जसका कारण उत्पादन घट्यो ।’ यो बर्ष कास्कीमा ६ हजार २ सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत बर्ष ६ हजार ७ सय भन्दा बढी सुन्तला उत्पादन भएको थियो । समग्रमा बर्षेनी १० प्रतिशतका दरले उत्पादन घट्दै जान थालेको कार्यालयको तत्थ्याङ्क छ । कास्कीमा गएको बर्ष ८ सय २० हेक्टरमा सुन्तला फलेका थिए भने यो बर्ष घटेर ८ सय ५ हेक्टरमा मात्र सुन्तला फलेको हो ।
कास्कीको भरतपोखरी, निर्मलपोखरी, थुम्की, हंसपुर लगायतका सुन्तला उत्पादनको पकेट क्षेत्रमै सुन्तला उत्पादन न्यून रहेको हो । ‘बोट मर्ने, रोगकिराको समस्या, व्यवस्थापनको कमी र सुन्तला व्यवसायबाट किसानहरु पलायन हुँदै गएका कारण उत्पादन भएन’ कडरियाले भने  कडरियाका अनुसार सुन्तला खेतिमा भयावहकै अवस्था आएको छ । पुराना बोट मर्दै गएका छन् तर नयाँ लगाइएको छैन । सुन्तला खेतिबाट किसानहरु पलायन भई अन्य खेति तर्फ लागेको जिल्ला कृषि विकास कार्यालय कास्की बताउँछ । कास्कीको सुन्तला उत्पादन हुने पकेट क्षेत्र भनिएको १० गाविसमा समेत बोट मर्दै गएका छन् ।
सुन्तलामा लाग्ने रोग तथा किरा नियन्त्रण र सुन्तलाका वोट परिक्षणका लागि गाउँ गाउँमा सुन्तला उत्पादक समुह गठन गरिएको भएपनि यसको उपलब्धि नदेखिएको हो । १० वटा गाविसमा परिक्षणका लागि बगैचा नै निर्माण गरी जिल्ला कृषि विकास कार्यालयले काम गरेको थियो । परिक्षण बगैचाबाट आएको नतिजालाई अन्य गाविसमा पनि विस्तार गर्ने योजना कार्यालयको थियो । ‘परिक्षण ग¥यौं, सुझाव र बगैचा व्यवस्थापनको काम पनि ग¥यौं । तर, किसान कै चासो कम भएपछि हाम्रो केही लागेन’ अधिकृत कडरियाको भनाई छ ।
कार्यालयले अहिलेको स्थानीय जातको सुन्तलाको विकल्पमा किन्नु र उन्सु जातका सुन्तला परिक्षणका लागि नमुना वगैचा पनि बनाएको छ । २ रोपनी क्षेत्रफलमा कार्यालयले गराएको नमुना बगैचा पनि नमुना बन्ने संकेत देखिएको छैन । यसको नजिता आउन अरु दुइ बर्ष कुर्नुपर्ने कार्यालयले बतायो ।
सुन्तलाको क्षेत्रफल र उत्पादन घट्दै गएपछि कार्यालयले वगैचा व्यवस्थापन तथा शुद्धिकरणको कार्यक्रम पनि ल्याएको छ । यस कार्यक्रममा गएको बर्ष ३८ लाख रुपैयाँ खर्च भएको छ यो बर्ष पनि यस कार्यक्रमका लागि १८ लाख रुपैयाँ छुट्टाइएको छ । शुद्धिकरण कार्यक्रमका लागि लाखौं रुपैयाँ खर्च गरिएपनि उपलब्धि न्यून छ । सुन्तलाको बगैचा र उत्पादन झन्झन् घट्दै गएपनि लाखौं रुपैयाँको लगानी खेर जाने देखिएको छ । ‘केही हुँदै नभएको भन्न मिल्दैन तर, सोंचे जति प्रगति नभएको मात्र हो’ अधिकृत कडरियाले बताए ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन २१, २०७१