सोमवार, बैशाख २४, २०८१

कास्की क्षेत्रमा कुखुराको मासु महङ्गो

पोखरा २०, फागुन- पोखरा सहित कास्की क्षेत्रमा उपभोक्ताहरुले कुखुराको मासु देशकै सबै भन्दा महङ्गो मुल्यमा खान बाध्य भएका छन । जिल्ला प्रशासन कार्यालय कास्कीको निर्देशनलाई नै अटेर गरी कास्कीका मासु व्यावसायीहरुले मुल्य निर्धारण गर्दा उपभोक्ताहरु ठगिन पुगेको उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोईरालाले बताए ।
आम उपभोक्ताहरुले बोईलर कुखुराको मासु कास्की क्षेत्रमा देशकै सबै भन्दा महङगो भयो भन्ने गुनासो आए पछि मंगलबार पोखरामा भएको छलफलबाट गुणस्तर कायम हुने गरी प्रति केजी ४ सय मुल्य कायम हुने गरी निर्णय गर्न गराउन प्रसाशनले दिएको निर्देशन दिएको थियो ।

उता व्यवसायीले प्रशासनको निर्देशन पालना नगरेकोले कुखुराको मासुमा कालोबजारी भएको कोइरालाले आरोप लगाए । उनले भने “आम उपभोक्ता माथि खेलवाड गर्ने उपर प्रसाशनले तत्काल कार्रवाही गर्नु पर्र्छ, यसमा मेरो तर्फबाट पनि पहल गर्छु ”
पोखरा उपमहानगरपालीका कार्यालयका प्रहरी निरिक्षक बसन्त चालिसेका अनुसार मंगलबार भएको छलफलको आधारमा व्यावसायीहरुले ४ सय भन्दा माथि कुनै पनि हालतमा मुल्य कायम गर्न नपाउने बताउँदै, यदि त्यो भएको खण्डमा कार्रवाहीको लागि प्रशासनमा उजुरी दिने चेतावनी दिएका छन ।
यस बिषयमा कास्की खसी तथा कुखुरा मासु व्यावसायी समिति कास्कीका अध्यक्ष ठाकुर पौडेलले भने मंगलबार भएको मासुको मुल्यको बारेमा प्रशासनले एकलौटि निर्णय गरेकोले आफुहरुले उक्त निर्णय मान्य नसक्ने बताए । उनले भने “हामीले देशको अन्य क्षेत्रमा दिईने मासु भन्दा बढी गुणस्तरीय भएकोले पनि केहि महङगो हुन पुगेको हो ।” कास्की क्षेत्रमा पहिला मासु पोलेर पिस गरेर मात्र जोख्ने तथा घाटी, पुच्छर, बोसो, घुडा छुट्याई पोलेर पिस गरेर बिक्री गर्ने भएकोले पनि महङगो भएको पौडेलले बताए ।
जिल्ला कुखुरा पालक किसान संघ कास्कीका अध्यक्ष मुत्तिराम अधिकारीले कास्की क्षेत्रका मासु व्यावसायीहरुले अन्य क्षेत्रको भन्दा बढी नाफा कमाउन खोजेको कारणले गर्दा कास्कीमा बढी महङगो पर्न गएको बताए । उनले भने “कृषकलाई कम मुल्यमा जिउदो कुखुरा खरिदेर उपभोक्तालाई बढी मुल्य लिनु भनेको मासु व्यावसायीहरुले बढी नाफा खान खोजेको प्रस्ट हुन्छ ।” कृषकसँग २ सय ४० को जिउदो कुखुरा लिदा उपभोक्ताहरुलाई प्रति केजी ३ सय ८० सम्म दिन सक्नु पर्ने अधिकारीले बताए ।

गत केही सातादेखि महङ्गोमा विक्री भइरहेको ब्रोइलर कुखुराको मासुको नयाँ मुल्य निर्धारण गरिए पनि लागु भएको छैन। निर्धारित नयाँ मुल्य अनुसार ब्रोइलर कुखुराको मासु प्रतिकेजी ४०० रुपैंया तय भएको हो । यस अघि उक्त मुल्य प्रतिकेजी ४२० देखि ४५० रुपैंयासम्म कारोबार भैरहेको ब्रोइलर कुखुराको मासु अत्याधिक महङ्गो भएको भन्दै उपभोक्ताहरु प्रशासनको शरणमा पुगेपछि सत्य तथ्य पत्ता लगाई नयाँ मुल्य निर्धारण गर्न पोखरा उप–महानगरपालिका कार्यालयले पहल गरेको थियो ।

प्रकाशित मिति: बुधबार, फाल्गुन २०, २०७१