सोमवार, बैशाख २४, २०८१

बेगनासताल क्षेत्रमा माछा महोत्सव हुने

पोखरा, १८ फागुन । लेखनाथ नगरपालिकाको बेगनासताल क्षेत्रमा माछा महोत्सव हुने भएको छ ।  “बेगनास जाऔँं, माछाका परिकारमा रमाऔं’’ भन्ने नाराका साथ यही फागुन २२ गतेदेखि २४ गतेसम्म माछा महोत्सव गरिने भएको छ । होटल तथा रेस्टुराँ संघ लेखनाथको आयोजनामा हुने उक्त महोत्सवको ९० प्रतिशत तयारी पूरा भएको संघका अध्यक्ष दुर्गा अधिकारीले बताए ।

महोत्सवको करिब एक लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवको अवसरमा बेगनासतालमा डुङ्गा दौड र पौडी प्रतियोगिता, खानाका परिकारमा विशेष छुटको समेत व्यवस्था गरिएको छ ।
बेगनास ताल क्षेत्रमा मात्र करिब ५० जनाले व्यावसायिकरूपमा माछापालन व्यवसाय गर्दै भने त्यसबाट दैनिक ३०० किलो र रूपाताल क्षेत्रबाट दुईसय देखि ३०० किलो माछा निकाल्ने गरिएको छ ।
तीसवटा स्टल रहने उक्त महोत्सवमा माछा तथा खानाका स्टल, मह तथा कफी प्रदर्शनी, जडीबुटी र सांस्कृतिक कार्यक्रम गरिने आयोजकले जनाएको छ । माछा संघ कास्कीका अनुसार पोखरामा मासिक रु २० लाख बढी माछाको कारोबार हुने गर्दछ । ‘‘एक महिनामा पाँच हजार किलो बढी माछा उत्पादन हुने गरेको छ । कास्कीमा उत्पादन भएको माछाले माग पूरा नगर्ने र अन्य जिल्लाबाट दैनिक चार हजार ५०० किलो बढी माछा आयात गर्ने गरेको संघले जनाएको छ । नपुग माछा चितवन, हेटौँडा, कपिलवस्तु र जनकपुरलगायतका ठाउँबाट ल्याइने गरेको छ ।
कास्कीमा विशेष गरी रघु, नैनी, भाकुर, बिगहेड, कमन, सिल्भर र तिलेपिया जातका माछा उत्पादन हुने गर्दछ ।

प्रकाशित मिति: सोमवार, फाल्गुन १८, २०७१